add

३५ वर्षदेखि तरकारी खेती गर्दै आएका ‘तरकारी काका’,






ActPro Nepal

|

१९ चैत, २०७९

|
275

ढोरपाटन । घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा। बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हन्छन्।

कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा ६७ वर्ष नाघिसके ।उमेरले सात दशक लागेपनि जोश र जाँगर भने २० वर्षे युवाको भन्दा कम्ता छैन। टीकारामले खेतबारीमै दिन बिताउन थालेको ३५ वर्षभन्दा बढी भयो।

साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील सापकोटा अहिले पनि माटोप्रतिको माया र तरकारी उब्जाउ गर्ने काममा कमी कत्ति पनि आएको छैन।

व्यावसायिकरूपमा गोलभेँडा, काउली बन्दा, सिमीलगायतका तरकारी उत्पादनमा तल्लीन उनी थुप्रै कृषकका उत्प्रेरणाका स्रोत र सारथी बनेका छन्।

पानी, प्रविधिलगायतका थुप्रै सामग्रीको अभावका बीच पनि कुँडुलेमा व्यावसायिक कृषि कर्ममा खटिरहने सापकोटाको प्रेरणाबाट धेरै व्यावसायिक कृषि कर्म थालेका छन्। कृषि कर्मबाट निकै सन्तुष्ट देखिने उनलाई नेपाली माटोमा सुन फलाउन सकिने विश्वास छ।

सामान्य परिवारका सापकोटालाई व्यावसायिक तरकारी खेती गर्नुपूर्व बिहान–बेलुकीको गर्जो टार्न गाह्रो हुन्थ्यो । परिवार पाल्नका लागि ज्याला–मजदुरी र निमेक गरेको उनी बताउँछन्।

तर तरकारी खेतीमा लागेपछि तीन छोरी र चार छोरालाई राम्रोसँग पढाउनुका साथै परिवार पालेर पनि करिब दुई करोडको जग्गा किन्न सफल भएका छन्।

उनले अहिलेको सफलता सहजै पाएका भने होइनन्। थुप्रै हन्डर र ठक्कर खाँदै यहाँसम्म आइपुगेको उनको भनाइ छ। सुरुका वर्ष व्यावसायिक तरकारी उत्पादन गर्दा बिक्री नै नभएको उनको तितो अनुभव छ।

जीन्दगीमा के चाहिँ गरिएन? सबै काम गरियो तर, तरकारी खेतीबाट सुख, सन्तुष्ट र खुशी सबै मिल्यो। उनीसँग आफूले दुखजेलो गरी उत्पादन गरेको तरकारी नबिकेको तितो सम्झना पनि छ । ०४८÷०४९ तिर गोलभेँडा, काउली र मसला बिक्री गर्न बागलुङ बजार पुगेका थिए, तर बिक्री भएन।

आफ्नो उत्पादन बिक्री नहुँदा टीकाराम निराश भए। तर, हिम्मत नहारी आफ्नो कामलाई निरन्तरता दिए र प्रतिफल पनि राम्रै पाउँदै आएका छन्। ‘यहाँको माटो अत्यन्त उब्जाउ हुने खालको छ, जे लगाए पनि राम्रो फल्छ, त्यसैले यहाँको माटोमा सुन फलाउन सकिन्छ,’ उनले भने।

टीकारामका सात सन्तान छन्। तरकारी खेतीबाटै भएको आम्दानीले उनले आफ्ना सात सन्तानलाई हुर्काउने, बढाउने र पढाउने गरेका हुन्।

तरकारी खेतीबाटै भएको आम्दानीले अहिले उनले राम्रै ठाउँमा सात रोपनी जग्गा किनेका छन्। उनको कमाइबाटै अहिले आफ्ना तीन छोरा–बुहारीलाई जापान पठाएका छन्। ‘अहिले त्यति धेरै आर्थिक समस्या छैन। यी सबै उपलब्धि मैले कृषि पेसाबाटै पाएको हुँ,’ टीकाराम सुनाउँछन्।

सुरुका दिनमा बारीमा धेरै काँक्रा तथा फलफूल उत्पादन भएको र बिक्री नभएपछि बजारमा निःशुल्कसमेत बाँडेको उनले सुनाए। सुरुआतीका केही समयबाहेक पेसालाई पछि फर्केर हेर्न नपरेको उनी बताउँछन्।

त्यो बाहेक महत्वपूर्ण उपलब्धि आज थुप्रै किसानलाई समस्या पर्दा कृषकसँगै समाधानमा लाग्दै आएका छन्। तरकारी खेतीले आर्थिक अवस्थासँगै आफ्नो परिचयसमेत बदलिएको सापकोटाको भनाइ छ।

कृषिलाई अझै व्यवस्थित गर्न भारतीय तरकारी आयातलाई निरुत्साहित गरे यहाँका कृषकले राम्रो आम्दानी गर्न सक्ने सापकाटाको भनाइ छ। त्यसका साथै कृषकलाई प्राविधिक ज्ञान दिनुपर्ने उनको माग छ।

सापकोटाको कृषि कर्ममा उनको श्रीमती कौशिला सापकोटाले साथ दिँदै आएकी छन्। उनीहरूले कृषि कर्मबाटै वार्षिक तीन लाखसम्म बचत गर्दै आएका छन्। तरकारी खेतीबाट आर्थिक अवस्था बदलिएपछि समाजले हेर्ने दृष्टिकोण बदलिएको उनकी श्रीमती कौशिला बताउँछिन्।

श्रीमान्को कडा मेहनत र लगावले गर्दा आज परिवारमा ठूलो परिवर्तन आएको उनको भनाइ छ । उनी भन्छिन्, ‘पहिले त खान लाउनको निकै समस्या थियो, बारीमा उत्पादन भएको धान, मकैले तीन महिना खान पनि पुग्दैनथ्यो, जीउनका लागि अर्काको घरमा पनि काम गर्‍यौँ।’

उनले तरकारी खेती थाल्नुभन्दा पहिले अरुको भारी बोक्ने, होटलमा काम गरेरे जीविका धानेको बताए। अहिले सामान्य खाना, लाउन र परिवार चलाउन समस्या नभएको उनले सुनाए। बूढाबूढी भए पनि दैनिक बारीमै सकेको काम गरेर उत्पादनसँग जोडिएको उनको भनाइ छ। रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.