काठमाडौं । प्रधानमन्त्री सहभागी कार्यक्रममा नबोलाएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङप्रति राखेप परिषद् सदस्य एलबी क्षेत्रीले आपत्ति जनाएका छन् ।
शनिबार राष्ट्रिय खेलकुद परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आतिथ्यतामा राखेपले खेलकुद पूर्वाधार नीतिका लागि संवाद कार्यक्रम आयोजना गरेको थियो ।
तर यति महत्वपूर्ण कार्यक्रममा आफ्नै सदस्यहरूलाई नबोलाएको भन्दै क्षेत्रीले आपत्ति जनाएका हुन् । राखेप सदस्यलाई यस्ता कार्यक्रमबारे जानकारी नदिनु आपत्तिजनक रहेको उनकाे भनाइ छ ।
'सदस्यसचिव घिसिङको स्वेच्छाचारी क्रियाकलाप र गतिविधिका लागि घोर असहमति रहेको छ र यस्ता गतिविधि सच्याउन सार्वजनिक रूपमा ध्यानाकर्षण गराउँदै सहकार्य समन्वय गरी अगाडि बढ्न पुनः अनुरोध', क्षेत्रीले सामाजिक सञ्जालमा लेखेका छन्, 'लोकतान्त्रिक पद्धति र प्रक्रियाकाे उपहास नगरौँ ।'
राखेप सदस्य क्षेत्री नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान हुन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।