काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार हुने नेपाल-युएई खेलको टिकट बिक्रीबाट उठेको सबै रकम क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने घोषणा गरेको छ।
क्यानले बुधबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै टिकट बिक्रीबाट उठेको सबै रकम क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने जनाएको हो।
नेपालले बिहीबार युएईसँग निर्णायक खेल खेल्दै छ। आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत बिहीबार हुने खेलबाटैै नेपालको विश्वकप क्वालिफायर यात्राको छिनोफानो हुनेछ।
बिहीबार हुने अन्तिम खेलमा युएईलाई पराजित गरेमा नेपाल ४० अंकसहित अंक तालिकाको शीर्ष तीनमा रहँदै सीधै विश्वकपको क्लालिफायरमा पुग्नेछ। पराजित भएमा भने प्लेअफ खेल्नुपर्नेछ।
लिग-२ बाट स्कटल्याण्ड र ओमान क्रमशः ५० र ४४ अंकसहित पहिलो र दोस्रो स्थानमा रहँदै विश्वकप क्वालिफायरमा प्रवेश गरिसकेका छन्। शीर्ष तीनमा रहेको नामिबियालाई पछि पार्न नेपालले बिहीबारको खेलमा युएईलाई पराजित गर्नैपर्ने दबाब छ।
नेपाल र युएईबीचको खेल बिहान ९ बजेपछि कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। यसअघि बुधबार भएको खेलमा युएईले पपुवा न्युगिनी (पिएनजी) लाई ६ विकेटले पराजित गरेको छ।
यो जितपछि युएईले ३५ खेलबाट ३३ अंक जोडेको छ। युएईले एकदिवसीय मान्यता पनि आइतबार नेपालसँग पराजित भएसँगै गुमाइसकेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।