काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८ प्रतिशत हाराहारी रहेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको ७ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।
चालू आर्थिक वर्षको ७ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ७.८८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको ६.१९ प्रतिशत र गैर– खाद्य तथा सेवा समूहको मुल्यवृद्धि ९.२२ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.४ प्रतिशत बढेको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७८ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत बढेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुल्यवृद्धि रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।