काठमाडौं । मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता बिच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र १ हजार १० किमी पाइप बिच्छाएको थियो । नयाँ पाइपमा पनि अरु निकायले काम गर्दा क्षति पुगेकाले चुहावट हुन थालेको निर्देशनालयको सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए ।
उनका अनुसार ढल तथा सडक बनाउँदा, विद्युत् अण्डरग्राउण्ड गर्दा पाइपमा क्षति पुगिरहेकाले पनि सडकमा धेरै ठाउँमा चुहावट पाइएको उनले बताए । ‘पुरानो पाइपमा त चुहावट हुने नै भयो नयाँ पाइपमा पनि चुहावटको समस्या भइरहेको छ,’ उनले भने ।
निर्देशनालयले यसअघि बिच्छाइएको पाइपको परीक्षण गरिरहेको छ । नयाँ पाइपमा परीक्षण गर्दा ठाउँठाउँमा चुहावट पाइएको र ती ठाउँमा मर्मत गरेर पुनःपरीक्षण गरिने उनको भनाइ छ । ‘अन्तिम परीक्षणमा पनि समस्या नभएको पाइए मात्रै नयाँ पाइपबाट पानी पठाउन सकिनेछ,’ उनले भने ।
नयाँ पाइप परीक्षणको क्रममा हुँदा हाल काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पुरानो संरचनाबाट नै पानी वितरण गरिरहेको छ । उपत्यकामा झण्डै एक सय वर्ष पुरानो पाइप रहेकाले पनि पुराना पाइपमा बढी समस्या भइरहेको कार्यालयको भनाइ छ ।
पहिलो कम परिमाणमा पानी वितरण हुने गरेको तर मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पाइपमा समस्या भएको हो । नयाँ पाइप परीक्षणका क्रममा भएकाले अहिले पुरानो पाइपबाटै पानी वितरण भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।
खासगरी ललितपुरको लगनखेल र आसपासका क्षेत्र, काठमाडौँमा पुरानो बस्ती क्षेत्रमा चुहावटको समस्या बढी छ । सरकारले गत महिनाबाट उपत्यकामा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरेको थियो । मेलम्चीको पानीको वितरण दुई वर्ष पहिले नै सुरु भए पनि बाढीका कारण धेरै संरचनामा क्षति पुगेकाले बर्सेनि हिउँद महिनामा मात्रै पानी वितरण भइरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।