काठमाडौँ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकबाट गुरुङ सीईओ पदमा नियुक्त भएका हुन् ।
नवनियुक्त सीईओ गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्ने जनाइएको छ । बैंकिङ क्षेत्रमा २६ वर्षे कार्यानुभव बटुलेका गुरुङ सिभिल बैंकका पूर्व सीईओ समेत हुन् । त्रिभुवन विश्विवद्यालय अन्तर्गतको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गुरुङले हिमालयन बैंकबाट बैंकिङ करियरको सुरूवात गरेका थिए ।
हिमालयन बैंकमा साढे १० वर्ष काम गरेका गुरुङले त्यसपछि ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदको जिम्मेवारी सम्हालेका थिए । ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि उनी नायव महाप्रबन्धक पदमा साढे २ वर्ष मेगा बैंकमा काम गरेका थिए ।
सिभिल बैंकमा ४ वर्ष डेपुटी सीईओका रुपमा कार्यभार सम्हालेका उनी सोही बैंकको सीईओसमेत बनेका थिए । सिभिल बैंकमा ४ वर्ष ३ महिना सीईओका रुपमा काम गरेपछि गुरुङ विदेशी बैंकमा सीईओ बने । विदेशी बैंकको सीईओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुन् ।
कृषि विकास बैंकमा सीईओका लागि आवेदन दिएका २२ जनामध्ये पाँच जनाको नाम सर्ट लिष्टमा निस्किएको थियो । जसमा पहिलो नम्बरमा गोविन्द गुरुङ, दोस्रो नम्बरमा प्रताव सुवेदी, तेस्रो नम्बरमा यज्ञप्रकास न्यौपाने, बद्रि गुरागाईं र विष्णुदेव यादव रहेका थिए । सबै प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङ कृषि विकास बैंकको नयाँ सीईओ बनेका हुन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।