जनकपुरधाम । ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो। तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका मान्छेहरुको कुरा सुन्नुपर्छ।
वैदिक सभ्यताको जननी, ऋषि–महर्षि आदि पुण्यात्माको तपस्यास्थल भनेर वर्णन गरिएको देवभूमि, अलौकिक धार्मिक आस्थाको पुञ्ज नेपाल बुझ्ने हरेक धार्मिक मान्छेले यहाँका ढुङ्गा ढुङ्गामा देवताको बास देख्छन् र प्रकृतिपे्रमीले यहाँका थङ्गाथुङ्गामा स्वर्गको आभाष गर्छन्।
तर ‘नजिकको तीर्थ हेला’ भनेजस्तै हामी नेपाली स्वयम्ले भने जानेर वा नजानेर यहाँको अनुपम महिमालाई नजरअन्दाज गरिरहेका हुन्छौँ।
यस्तै आभाष भयो नेपालको कालीगण्डकी नदीबाट भारतउत्तर प्रदेशको ऐतिहासिक धार्मिकस्थल भगवान् रामको जन्मभूमि अयोध्या लगिएको शिलायात्रामा सहभागी हुँदा। 'कालीगण्डकी नदीको शिलामा भगवान् रामको बालस्वरुप बनाएर उहाँको जन्मभूमि अयोध्यामा निर्माणाधीन राम मन्दिरको केन्द्रमा राख्ने विषय हामी सबै नेपालीका लागि ऐतिहासिक महत्वको हुने नै भयो', नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिव रामजी दाहालले भने, 'तर त्यसको धार्मिक महत्व कति रहेछ भन्ने कुरा भारतीय सीमा प्रवेशपछि मात्रै अझ बढी थाहा भयो।' उनले कालीगण्डकीको शिलालाई देवशिलाका रुपमा भारतीय पक्ष र विशेषगरी त्यहाँका हिन्दू धर्मावलम्बीहरुबाट व्यक्त श्रद्धाबाट आफू आश्चर्यचकित भएको बताए।
म्याग्दीको बेनीबाट जनकपुरधामसम्म करिब पाँच सय किलोमिटरभन्दा बढी सडक दूरी पार गर्दा केही ठाउँमा मात्रै शिलाको दर्शन तथा पूजा भयो। तर जब त्यो शिलालाई धनुषास्थित जटही नाका हुँदै भारत प्रवेश गराइयो तब थाहा भयो त्यसको महत्व कति रहेछ भनेर।
नेपालमा अधिकांशले ढुङ्गाका रुपमा मात्रै बुझेको शिलामा भारतवासीले देवता नै देखे। त्यहीअनुसार देवशिला यात्रालाई एउटा महोत्सवका रुपमा मनाए। नेपालबाट श्रीराम जन्मभूमि अयोध्या पछ्याउँदै अघि बढेको शिलाप्रति भारतीय श्रद्धालुहरुले अभिव्यक्त गरेको श्रद्धाभाव, उत्साह, उमङ्ग र सहभागिताले त्यसलाई पुष्टि गर्यो। त्यो देखेपछि देवशिला यात्रामा सहभागी जनकपुरधामका परमेश्वर महासेठ भन्दै थिए, 'यो आस्था, श्रद्धा र उपस्थिति देख्दा त साक्षत भगवान् राम नै उपस्थित भएको आभाष भयो।'
पिपरौन, फुलहर, गनगौर, गोपालपुर, मुखिआपत्ती, बैंगरा, बीसनपुर, मेघवन, माधपुर, कङ्गनी, दरभङ्गा, मुजफ्फरपुर हुँदै देवशिला मोतिहारी पुग्दा मानिसहरुको उत्साह थपिँदै गयो। देवशिलाको व्यग्र प्रतीक्षामा रहेका दर्शनाभिलाषीमा छिप्पिँदो रात र चिसोको कुनै प्रवाह थिएन। दोस्रो दिन अर्थात् १७ गते गोरखपुरबाट अयोध्या पुग्न करिब एक सय ३५ किलोमिटरको दूरी पार गर्नु थियो। केही घण्टाको सडक पार गर्न देवशिला बोकेको लरीलाई झन्डै १० घण्टाभन्दा बढी समय लाग्यो। 'न सार्वजनिक आह्वान, न कुनै उर्दी तर पनि स्वस्फुर्त रुपमा हजारौँ मान्छे बाटोमा लाम लागेर देवशिलाको दर्शन गरेँ', डा कुलराज चालिसेले स्मरण गरे, 'कोखमा बच्चा च्यापेका महिलादेखि वृद्धवृद्धाहरुले नतमस्तक भएर शिला ढोगे, त्यो छुन पाउनु नै पुण्य हो भन्ने भावमा श्रद्धा प्रकट गरे।'
जनकपुरदेखि अयोध्याको करिब पाँच सय किलोमिटर सडक पार गर्न करिब २४ घण्टा समय लाग्यो। सडकमा त नागरिक थिए नै, भारतीय मिडियाले पनि उच्च प्राथमिकताका साथ प्रचारप्रसार गरे। राम मन्दिर कार्यशाला रामसेवकपुरमा देवशिला पूजापछि आयोजित विशेष समारोहमा नेपालका तर्फबाट जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र नेपाली कांग्रेसका नेता, पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायलाई चतुर्भुज शालिग्रामसहित शिला हस्तान्तरणको क्षण त झन् चर्चा गर्न लायक थियो। त्यसैले त भारतका सबैजसो मिडियाले अरू प्राथमिकतालाई छोडेर त्यसैको चर्चामा समय खर्चिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।