add

खुदोबाटै आर्थिक समृद्धितर्फ मालेपाटन र ढोडबेँसी गाउँ






ActPro Nepal

|

१८ माघ, २०७९

|
176

पोखरा। पुस १५ होस् वा माघे सङ्क्रान्ति। पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्ने चलन हराइसकेको छ।

यातायातको सुविधासँगै बढ्दो बजारीकरणले घर–घरमा पुगी खुदो बेच्ने चलन हराएको हो। तर, खुदोका लागि विशिष्ट पहिचान बनाएको पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र ढोडबेँसीमा अहिले पनि उत्तिकै उखुखेती गरी खुदो उत्पादन गरिन्छ। मालेपाटन ढोडबेँसी क्षेत्रमा उखुखेती कहिलेबाट गर्न थालियो भन्ने यकिन छैन।

बुढापाकाहरूका अनुसार २०० वर्षअघिदेखि नै यहाँ उखु लगाउने र खुदो उत्पादन गर्ने चलन रहेको मालेपाटन कृषि सहकारीका अध्यक्ष महेश्वर पौडेलले बताए। “खुदो यस क्षेत्रको विशिष्ट पहिचान हो। यसको व्यावसायिक खेतीतर्फ स्थानीयवासी आकर्षित छन्”, उनले भने, “उखु लगाउने र खुदो उत्पादन गर्ने ऐतिहासिक परम्परालाई जोगाउँदै अझै व्यावसायिक बनाउनेतर्फ हामीले जोड दिएका छौँ।” सामान्यतः पुसको दोस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म पोखरा र आसपासका क्षेत्रमा खुदोको कारोबार हुने गर्दछ।

नेपाली संस्कृतिअनुसार पुस १५ मा लटे (अनदीको चामललाई घ्यू खुदोसहित राखेर बनाइने परिकार) खाने र माघे सङ्क्रान्तिमा खुदो चिउरा खाने चलनले पनि यस अवधिमा यसको खोजी हुने गर्दछ। उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने गरिन्छ। समयको गतिसँगै विगतमा काठे कोलमा पेल्ने गरिएको उखु दशक अघिसम्म गोरुका माध्यमबाट कोल घुमाएर पेल्ने गरिन्थ्यो। पछिल्ला वर्षमा भने विद्युतीय कोलको प्रयोग गरी उखु पेल्ने गरिएको पौडेलले बताए। कास्की र आसपासका धेरै स्थानमा विगतमा गर्ने गरिएको उखुखेती लोप हुन लागेका बेला स्थानीय यसको व्यावसायिक विस्तारमा जुटेका छन्।

व्यावसायिकताको प्रयाससँगै संगठित बनेका स्थानीयले २०६७ सालयता मालेपाटन कृषि सहकारी सञ्चालनमा ल्याएका छन्। सहकारी स्थापनासँगै खुदो र दूधको उत्पादन एवं बजारीकरणसँगै बाख्रा, कुखुरापालन पनि गर्दै आएको छन्। मालेपाटन र ढोडबेँसी क्षेत्रमा ७० लाखदेखि एक करोडसम्म खुदोको कारोबार हुने गरेको छ। पछिल्ला वर्ष उखुमा देखिएको रोग, कृषिप्रतिको अनिच्छालगायत कारणले यसको खेती कम हुँदै गएको छ। मालेपाटन ढोडबेँसी क्षेत्रमा ९० परिवारले २०० रोपनीमा उखु लगाउँदै आएका छन्।

उखु लगाएको एक वर्षमा काट्नका लागि तयार हुने र काटिएको लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ। उक्त रसलाई घण्टौँसम्म पकाएपछि खुदो तयार हुन्छ। पकाउने कामलाई पनि व्यवस्थित बनाइएको कृषक रामप्रसाद ढकालले जानकारी दिए। 

पहिचान जोगाउन ब्राण्डिङ

मालेपाटन ढोडबेँसीको खुदो भन्दै बजारमा अन्यत्रबाट ल्याइएको खुदो बेच्ने क्रम बढेको थियो। पोहोरदेखि यसलाई ब्राण्डिङ गरिएको छ। पोखरा महानगरपालिकाको सहयोगमा ‘स्वादिलो र विश्वासिलो पोखरा–३२ मालेपाटन र ढोडबेँसीको खुदो’ लेखेर सिलबन्दी गरिएको एक लिटरको बोतलमा राखेर बजारमा लगिएको सहकारीका अध्यक्ष पौडेलले बताए।

गुणस्तर परीक्षणसहित सिलबन्दी खुदोको खुद्रा मूल्य प्रतिलिटर ३५० निर्धारण गरिएको छ। १० लिटरभन्दा बढी लैजानेका लागि प्रतिलिटर ३२५ लिने गरिएको छ। सहकारीका अलावा स्थानीयले घर–घरबाट पनि खुदोको व्यापार गर्दै आएका छन्। महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले मालेपाटन र ढोडबेँसीको खुदो यहाँको पहिचान भएकाले यसको ब्राण्डिङ तथा प्रवद्र्धनका लागि सहयोग गरेको बताए। महानगरले ‘एक वडा, एक उत्पादन’कार्यक्रमअन्तर्गत वडा नं ३२ मा उखुखेतीमा लगानी गर्ने उनको भनाइ छ। 

विगतमा यस क्षेत्रमा रैथाने, काठे र देशी उखु लगाउने गरिएकामा त्यो विस्थापन भई २०५० सालमा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको स्थानीयवासी बताउँछन्। उखुमा लाग्ने गरेको ढुसीजन्य रोगले उत्पादनमा कमी आएको स्थानीयको गुनासो छ। यस वर्ष वर्षात्को समयमा उखु ढलेपछि चिन्तित बनेका यहाँका स्थानीयलाई औषधि छर्नका लागि कृषि ज्ञान केन्द्रले स्प्रे उपलब्ध गराएको थियो। औषधि छरेसँगै क्षतिमा कमी आएको थियो। “पछिल्ला वर्षमा यस क्षेत्रमा उखुको व्यावसायिक खेती हुने गरेको छ।

व्यक्तिगतरूपमा नै कतिपयले १४० टिनसम्म (प्रति टिन १६–१७ लिटरसम्म हुने) खुदो उत्पादन गर्ने गरेका छन्”, स्थानीय रामप्रसाद ढकालले भने। स्थानीयले यहाँको गुणस्तरीय खुदो घर–घरबाट प्रतिमाना २०० रुपैयाँमा बिक्री गर्ने गरेका छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.