add

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?






ActPro Nepal

|

४ माघ, २०७९

|
533

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र ताप्लेजुङका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ विक्रीमा ल्याएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ३२ हजार ५०० कित्ता सेयर निष्काशन गरेकाे हो।

सोमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका (वडा नं. १, २, ९ र १०), फक्ताङलुङ गाउँपालिका (वडा नं. १), भिक्वाखोला गाउँपालिका (वडा नं. १ र २), मेरिङदेन गाउँपालिका (वडा नं. २ र ३) आठराई त्रिवेणी गाउँपालिका (वडा नं. ५) र मैवाखोला गाउँपालिका (वडा नं. १)का बासिन्दाका लागि १३ लाख ३३ हजार कित्ता छुट्याइएको छ । बाँकी १९ लाख ९९ हजार ५०० कित्ताका लागि माथि उल्लेखित बाहेका ठाउँका बासिन्दाले आवेदन दिन पाउने छन् ।

त्यसैगरी, कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि ४ करोड ९९ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४ लाख ९९ हजार ८७५ कित्ता साधारण सेयर निष्काशन गरेकाे छ ।

लगानीकर्ता न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछ । उक्त आइपीओमा लगानीकर्ताले माघ १८ गतेसम्म् आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर विक्री नभएमा स्थानीय बासिन्दाले मात्र ढिलोमा फागुन ४ गतेसम्म आवेदन दिन पाउने छन् ।

स्थानीय बासिन्दाले सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले हाल ताप्लेजुङमा ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ र प्रति मेगावाट लागत १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँ अनुमान गरिएको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.३६ वर्ष रहेको छ। कम्पनीको विद्युत उत्पादन अनुमति २९ वर्ष ८ महिना बाँकी रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.