चितवन । ‘मेड इन नेपाल एक्स्पो २०७९’ आजदेखि सुरु भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा चितवन महोत्सव परिसरमा एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोको मङ्गलबार भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरे ।
एक्स्पोमा ४० वटा स्टल रहेका छन् । दश वटा स्टार्ट अप बिजनेशका स्टल रहेका छन् । भर्खरै उद्यमशील बनेका युवाहरूबीच ‘बिजनेश आइडिया’को विषयमा मञ्चले प्रतिस्पर्धा गराउँदैछ । उत्कृष्ट हुनेले नगद रु एक लाख पुरस्कार पाउने छ ।
एक्स्पोको उद्घाटन कार्यक्रममा उपप्रमुख अधिकारीले नेपाली उत्पादनको प्रवर्द्धनका लागि एक्स्पोले सहयोग पुग्ने बताए । महागनरले पनि बेलाबखत सीपमूलक तालिमको आयोजना गर्दै आएको भन्दै उनले उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको बताए । “स्थानीय उत्पादन वृद्धि र रोजगार सिर्जना गराउने काममा युवा उद्यमीसँग सहकार्य गर्न महानगर सदैव तयार छ”, उनले भने।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले विदेशमा सीप सिकेर आएका युवालाई स्वदेशमा नै उत्पादनसँग जोड्न एक्स्पोले मद्दत पुग्ने विश्वास व्यक्त गरे । चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले नेपाली उत्पादनले विदेशी उत्पादनसँग पनि प्रतिस्पर्धा गर्न सरकारले पनि सहयोग गर्नुपर्ने बताए । नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले सरकारको न्यूनतम साझा कार्यक्रम ‘मेक इन नेपाल’लाई ‘मेड इन नेपाल एक्स्पो’ले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।