पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्धाटनको दिन आइतबार पोखरा महानगरपलिकाले सार्वजनिक बिदा दिएको छ।
महानगरले विमानस्थलको उद्धाटनमा व्यापक जनसहभागिताका गराउनका महानगरका कार्यालय, शाखा, वडा कार्यालयसहित शैक्षिक संस्थाहरूमा बिदा दिएको मेयर धनराज आचार्यले जानकारी दिए।
आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दैछन्। देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देशबाहिर समेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षका अवसरमा उद्घाटन गर्न लागिएको विमानस्थल प्रशासनले जनाएको छ।
विमानस्थलको औपचारिक उद्धाटनअघि अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित ¥याली निकाल्ने तयारी गरिएको छ। उद्धाटन अघि विमानस्थलको परिकल्पनाकार तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ।
अर्का योजनाकार पदमबहादुर क्षेत्रीलाई पनि अभिनन्दन गर्ने कार्यक्रम रहे पनि उनी नेपाल बाहिर रहेकाले पाठकलाई मात्र अभिनन्दन गरिनेछ। पोखरा विमानस्थलको उद्धाटन पोखरेलीको पचासौं वर्षपहिले देखेको सपना साकार भएको दिन भएकाले भव्य रूपमा उत्सवका रूपमा मनाउने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए।
उद्धाटन समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, राजनीतिक दलका शीर्ष नेताहरू, उद्योगी व्यवसायी लगायतको उपस्थिति रहनेछ।
औपचारिक उद्धाटनँंगै सञ्चालनमा आउने विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान भने नहुने भएको छ। बुद्ध एयरले पोखराबाट भारतको बनारसमा पहिलो अन्तर्राष्ट्रिय उडान भर्न चाहेको भएपनि भारतीय पक्षले अनुमति नदिँदा आन्तरिक उडानमै सीमित हुनुपरेको हो। उद्धाटनसँगै आन्तरिक उडान भने नियमित हुने नागरिक उड्डयन प्राधिकरण पोखराले जनाएको छ।
चिनियाँ एक्जिम बैंकको झण्डै २२ अर्ब रूपैयाँ ऋण सहयोगमा निर्माण भएको यस विमानस्थल बैंकको ऋणमध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको बिनाब्याजको ऋण ब्यहोर्ने सर्तमा निर्माण भएको हो।
झण्डै ३७ सय रोपनी क्षेत्रफलमा निर्माण भएको विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को मामदण्डअनुसार ४ ‘डी’ मोडलमा निर्माण गरिएको छ।
यस विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० का जहाज अवतरण हुनेछन्। विमानस्थलको धावनमार्गको लम्बाइ २५ सय मिटर र रन वेको चौडाइ ४५ मिटर छ।
विमानस्थलका लागि सरकारले २०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो। तर, त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो।
जुलाई २०२१ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण गरिए पनि विश्वभर फैलिएको कोरोना संक्रमणका कारण डेढवर्ष पछि धकेलिएको हो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।