काठमाडाैं । नेपालमै पहिलोपटक नियो बैंक सञ्चालमा ल्याइएको छ । नबिल बैंक लिमिटेडले बिहीबारबाट एन बैंक (नियो बैंक) को भर्चुअल शुभारम्भ गरेको हो । एन बैंकको शुभारम्भ गरेसँगै नबिल बैंक कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको नबिलले जनाएको छ ।
एन बैंक सञ्चालनका लागि एक छुट्टै भर्चुअल शाखा स्थापना गरिएको छ । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले एन बैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउन र दिगो बैंकिङमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
बैंकका उपाध्यक्ष निर्वाण चाैधरीले बैंकिङ सेवालाई डिजिटल बनाएर परिवर्तनको नेतृत्व गरेको बताए । `ग्राहकले जुनसुकै स्थानबाट पनि नविन डिजिटल बैंकिङ सेवाहरू अनुभव गर्न सक्ने भएकाले बैंकिङ क्षेत्रमा ‘परिवर्तन’को नेतृत्व नबिल बैंकले गर्नेछ´, चाैधरीले भने।
बैंकका अनुसार ग्राहकले आफ्नो साथमा रहने मोबाइल फोनको सहायताले एन बैंकको उपयोगमार्फत खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैंकिङ सेवाहरू सजिलैसँग लिन सक्नेछन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले अनलाइन बैंकिङ रोज्ने ग्राहकले एन बैंकबाट आफ्नो खाता खोल्नेदेखि डिजिटल ऋण प्राप्त गर्नेसम्मका सेवा पाउने बताए ।
नबिल बैंकका डीसीईओ विनयकुमार रेग्मीले नेपाली बैंकिङ उद्योगमा नवयुगको सुरुवात भएको बताए । `आज पूर्णतया डिजिटल बैंक, एन बैंक शुभारम्भ गरेर नेपाली बैंकिङ उद्योगमा नवयुगको सुरुवात भएको छ,' रेग्मीले भने, `नबिल बैंकले डिजिटल प्रविधिमा अगुवाइ गरिरहेको छ, हामीले डिजिटल उत्पादन र सेवाहरू सिर्जना गरेका छौँ जसले तपाईंको बैंकिङ सेवा लिने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ ।´
के हो एन बैंक, कसरी उपयोग गर्ने?
एन बैंक (नियो बैंक) - मोबाइल बैंकिङ एपलाई पूर्ण रूपमा परिमार्जन गरेर सुरु गरिएको डिजिटल बैंक हो । यसअघि नै नबिल स्मार्ट बैंक एप प्रयोग गरिरहेका ग्राहकहरूले अपडेट प्राप्त गर्छन् जहाँ लोगो नबिलको ‘ए’ बाट एन बैंकको ‘एन’ मा परिणत हुने बैंकले जनाएको छ। यसबाहेक, नयाँ र आधुनिक प्रयोगकर्ता इन्टरफेस प्रदान गर्न एपको लुक एण्ड फिल अपडेट गरिएको बैंकले जनएको छ।
सम्बन्धित बैंकमा खाता नभएका सर्वसाधारणले पनि अब आफ्नो मोबाइलमा रहेको एन बैंक एपबाट बैंक खाता खोल्न सक्ने उल्लेख गरिएको छ । एन बैंकमार्फत खाता खोल्न जम्मा ३० सेकेन्ड लाग्ने नबिल बैंकले दाबी गरेको छ ।
एन बैंक एपबाट ग्राहकहरूले अब सिधै आफ्नो बैंक खाता खोल्नेदेखि ऋणका लागि आवेदन दिनसम्मका सम्पूर्ण गतिविधिहरू गर्न सकिने उल्लेख गरिएको छ।
यस्ता छन् एन बैंकका प्रमुख विशेषता
३० सेकेन्डमै खाता खोल्न सकिने
एन बैंक एपबाट ३० सेकेण्डभित्रै एन सेभिङ खाता खोल्न सकिने छ । खाता खोल्न ग्राहकले आफ्नो नाम, जन्म मिति, इमेल ठेगाना, मोबाइल नम्बर र नागरिकता नम्बर मात्र भर्नुपर्ने उल्लेख गरिएको छ ।
डिजिटल ऋणको सुविधा
ग्राहकहरूले आफ्नो एन बैंक एपबाट सिधै ऋणका लागि डिजिटल आवेदन दिन सक्ने बताइएको छ। नबिल फोन लोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिने उल्लेख छ ।
ग्राहकले आफ्नो छ महिनाको कारोबार इतिहासको आधारमा नबिल फोन लोन प्राप्त गर्न सकिने उल्ख गरिएको छ ।
एन-रेमिट
नेपालभित्र पैसा पठाउनेबाहेक, विदेशमा बस्ने ग्राहकहरूले एन रेमिट छनोट गरेर आफ्नो मास्टर कार्ड वा भिसा कार्डहरू प्रयोग गरेर आफ्नो अन्तर्राष्ट्रिय बैंकहरूबाट सिधै नबिल बैंक खातामा पैसा पठाउन सकिने छ। प्रेषक र प्रापक विवरणहरू सहित (यूएसडीमा) पठाइने रकमसहितको फारम मात्र भरे पुग्ने नबिलले जनाएको छ ।
अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरेर दर्ता सुविधा
विदेशमा बस्ने ग्राहकहरूले आफ्नो अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एन बैंक एपमा दर्ता गर्न र आफ्नो नबिल बैंक खाता सञ्चालन गर्न सक्ने उल्लेख गरिएको छ। बैंकिङ सेवाहरूको होस्टका लागि आवेदन दिन सकिने र डेबिट कार्ड, क्रेडिट कार्ड, व्यक्तिगत ऋणको सुविधा पनि लिन सकिने बताइएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।