add

यू-२३ राष्ट्रिय भलिबलः गण्डकीका दुई खेलाडी छनोट






ActPro Nepal

|

२७ मंसिर, २०७९

|
479

काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि यू–२३ राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनोटमा परेका छन् ।

नेपाली भलिबल सङ्घले घोषणा गरेको १४ सदस्यीय यू–२३ टिममा गण्डकीबाट बागलुङका रवि केसी र स्याङ्जाका भीमराज गुरुङ छनोट पर्नुभएको हो । बाइस वर्षीय केसी ओपन स्पाइकर र गुरुङ लिबेरो हुनुहुन्छ । आउँदो पुस ५ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा टिमले नेपालका तर्फबाट भाग लिनेछ । देशभरबाट खुला छनोटमा परेका २० खेलाडीमध्ये एक महिनाको बन्द प्रशिक्षणमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा १४ जना खेलाडीको अन्तिम छनोट गरिएको सङ्घले जनाएको छ ।

भलिबल खेलको इतिहासमा पहिलोपटक यू–२३ राष्ट्रिय टिम तयार पारी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउन लागेको हो । केसी र गुरुङसँगै धिरोजकुमार बस्नेत, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महत्ता, मनिष मानन्धर, हेमन्त मल्ल, बेदप्रकाश जोशी, सम्राट भण्डारी र गौरव पाण्डे टिममा छन् । गलकोट नगरपालिका–७ मल्मका केसी भलिबलमा उदाउँदो प्रतिभा हुन् । यू–२३ राष्ट्रिय टिममा परेसँगै उनको खेल करिअर नयाँ मोडमा आइपुगेको छ ।

देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना साकार हुन लागेको केसीले सुनाए । “टिममा पक्कै पर्छु भन्ने लागेको थियो, मेहेनत पनि त्यसैअनुसार गरेको थिएँ, छनोटमा पर्दा खुसी छु”, उनले भने । केसी छोटो अवधिमै भलिबलमा चम्किएका खेलाडी हुन् । दुई वर्षअघि काठमाडौँमा भएको ‘एनभिए कप’बाट उनले राष्ट्रियस्तरको प्रतियोगितामा डेब्यु गरेका थिए । गलकोट स्पोर्टस् क्लबबाट रविले उक्त प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन जितेका थिए ।

त्यसता उनले ‘टाइगर कप’ हुँदै हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट खेले । जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष योगश भण्डारीले खेल कौशल र अनुशासनमा केसी अब्बल रहेको बताए । उनले केसीलाई भलिबलमा भविष्य बोकेको खेलाडीका रूपमा लिए । बङ्गलादेश भलिबल फेडेरेशनको आयोजना तथा सेन्ट्रल एसियन भलिबल एशोसिएशनको संयोजनमा उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.