add

भ्रष्टाचारको अन्त्य नभई देशले गति लिनेछैनः बिष्ट






ActPro Nepal

|

२८ कार्तिक, २०७९

|
2037


प्रदिप बिष्ट, प्रतिनिधिसभा सदस्य उम्मेदवार, काठमाडौं क्षेत्र नम्बर १०

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १० बाट प्रदिप बिष्टलाइ चुनावी मैदानमा उतारेको छ । काठमाडौंमै जन्मेहुर्केका बिष्ट वि.सं २०४६ सालको जनआन्दोलन देखि सक्रिय राजनीतिमा होमिएका व्यक्ति हुन् ।  

लामो समय देखि राजनीति मार्फत सामाजिक उत्थानको लागि काम गर्दै आएका बिष्टले समाजमा रहँदै आएका विकृति एवं विसङ्गति न्यूनीकरणको लागि आफू यस पटकको निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट चुनावी मैदानमा होमिएको बताउँछन् ।

नेपालमा स्थापित राजनीतिक दलहरुले जनताका आधारभुत आवश्यकतामा समेत उचित समाधान गर्न नसक्नु, दिन प्रतिदिन देशमा भ्रष्टाचार, वेथिति मौलाउँदै गएको र दलहरुमा गुटबन्दी बढ्दै गएको कारण वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको बिष्टको ठहर छ । 

आफू संलग्न दल विगत केही महिना पहिले मात्रै स्थापना भएको भएपनि विगतका दलहरुका कमीकमजोरीलाइ सही ट्रयाकमा ल्याइ जनताहरुलाइ उचित समाधान र सुसुचित गर्न आफू सक्षम रहने बिष्ट बताउँछन् । उनै बिष्टसँग निर्वाचनमा केन्द्रित रहेर एक्ट प्रो नेपाल डट कम सँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

यतिबेला तपाईं केमा व्यस्त हुनुहुन्छ ?

आसन्न निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहेको छ । यसैकारण म मेरा सम्पूर्ण शुभेच्छुकहरु सहित यस काठमाडौं क्षेत्र नम्बर १० का मतदाताहरुसँगको भेटघाटलाइ तीव्रता दिएको छु । यस अभियानलाई हाम्रा सम्पूर्ण परिवर्तनकारी शक्तिहरुको समर्थन रहेको छ । हामी उत्साहित छौं ।

आम मतदाताहरुबाट कस्तो प्रतिक्रियाहरु पाइरहनुभएको छ ?

हामी राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेका वाचापत्र लिएर आम मतदाताहरु सामु पुग्दा जनताहरु उत्साहित भएको हामीले पाएका छौं । अहिले सम्म सधैंजस्तो एउटै व्यक्ति दोहोरिरहने स्थिति रहँदै आएकोमा जनताले नयाँ अनुहारको खोजि गरिरहनु भएको हामीले महसुस गरेका छौं । हामी घरदैलो पुग्दै गर्दा रवि लामिछाने नेतृत्वको पार्टी भन्ने थाहा पाए पश्चात् जनताहरु झनै उत्साहित भएको हामीले पाएका छौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० शहरी क्षेत्र हो । यस क्षेत्रमा त्रिभुवन विश्व विद्यालय समेत रहेकाले यहाँ सभ्य, शिक्षित एवं संस्कारी व्यक्तिहरुको बसोबास छ । यसैगरी कुशल प्रशासक, राजनीतिज्ञ, व्यापारी, पत्रकार र मन्त्रीहरु समेत यस क्षेत्रमा बसोबास गर्दै आइरहेका छन् । 

हामीलाई बौद्धिक व्यक्तिहरुले अन्य पार्टीमा भोट हाल्ने ठाऊँ नै नभएको कारण हामीलाई भोट हाल्नुपर्ने बाध्यात्मक स्थिति रहेको प्रतिक्रिया दिँदै आउनुभएको छ । अहिले नयाँ पुस्ताले नयाँ भिजन सहितका सदैव जनतासँग सुखदुखमा सँगै रहने प्रतिनिधिहरु पाउन सकौं भन्ने चाहेको छ । यस्तो स्थितिले हामीलाई सही तवरले देशको नेतृत्व गर्न सक्ने ठानेर हामीलाई विजयी गराउनुहुन्छ भन्ने अपेक्षामा हामी छौं । 

तपाईंका मुख्य चुनावी वाचाहरु के–के छन् ?

हाम्रो पार्टी ‘बेतिथिलाई सहिन्न, भ्रष्टचारीलाई छाडिन्न’ भन्ने मूल मन्त्र लिएर भ्रष्टाचारलाई निमिट्यान्न पार्ने योजना सहित अघी बढेको छ । हामीले देश विकासको प्रमुख बाधक तत्व नै भएको पाएका हुनाले म यस विरुद्ध निर्मम रुपमा प्रस्तुत हुने वाचा गर्दछु । जुन उद्देश्यका साथ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचापत्र सार्वजनिक गरेको छ त्यस वाचापत्र भित्र समावेश भएका वाचाहरु नै मेरा पनि साझा वाचा हुनेछन् । 

यस पटकको निर्वाचनमा तपाईं चुनावि मैदानमा आउनुको कारण चाहिँ के हो नि ?

म विगत लामो समय देखि स्वतन्त्र भएर बसेको थिएँ । त्यो भन्दा अगाडि म राजनीतिमा नेपाली काङ्ग्रेसमा आबद्ध थिएँ । २०७४ सालबाट चाहिँ म स्वतन्त्र नै हुन पुगेको हुँ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुँदै संविधानसभाबाट संविधान प्राप्त भइसक्दा पनि मुलुकले कुनै सकारात्मक गति समाएको स्थिति नरहेकोले म राजनीतिक दलबाट अलग हुन पुगेको हुँ । यसै परिप्रेक्ष्यमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मुलुकको विकासको लागि केही गर्ने ठानेर म यस दलमा आवद्ध भएँ । पार्टी नेतृत्वले मेरा सकारात्मक कर्महरु देखेर पार्टीले मलाई योग्य ठहराएकोमा म यस दलबाट चुनावी मैदानमा उत्रिएको हुँ ।

पाँच दलिय सत्ता गठवन्धन र एमाले लगायतका दलहरुसँग प्रतिष्पर्धामा हुनुहुन्छ , नयाँ दल हो, संगठन पनि बलियो छैन । यहाँले कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

यहाँले सहि मुल्याङ्कन गर्नुभयो । अहिलेको गठबन्धन चुनाव हुनुभन्दा पहिले नै बनेको छ । आखिर यो गठबन्धन के को लागि त ? जसरी विगतमा काङ्ग्रेसलाई हराउन एमाले र माओवादीको गठबन्धन थियो, त्यसरी नै अहिले एमालेलाई हराउनको लागि यो पाँच दलीय गठबन्धन भएको छ । यो गठबन्धनले राजनीतिक दलका सिद्धान्तलाई नै विलीन बनाएको छ । जसबाट जनता दोधारमा परेका छन् । 

अहिलेको गठबन्धन सरकारले निर्वाचन आचारसंहितालाई समेत धज्जी उडाइरहेका छन् । जनताहरुले गठबन्धनबाट दुख पाइरहेका छन् । यस्तो स्थितिबाट वाक्क भएका जनताहरुमा अब अरुको लागि भोट हाल्ने होइन, आफ्नै लागि भोट हाल्नुपर्छ भन्ने जागरण पलाउनु नै हाम्रो लागि ठूलो उपलब्धि हुने अर्थमा हामीले बुझेका छौं । 

साथै यसपटकको निर्वाचनमा म व्यक्तिले जित्छु वा हार्छु भन्ने महत्वपूर्ण कुरा होइन । हाम्रो अभियानले जित्छ वा हार्छ भन्ने कुरा नै महत्वपूर्ण हुनेछ । यो अभियानले जित्न सकेको खण्डमा हामीले वेथितिलाई नसहने र भ्रष्टाचारीलाई नछोड्ने निश्चित संयन्त्र विकास गर्नेछौं । यही काम गर्न मात्र सकेको खण्डमा अन्य संयन्त्रहरुले स्वतः काम गर्दै जानेछन् । जसबाट हामीले पारदर्शिता पूर्ण रुपमा प्राप्त गर्न सक्नेछौं ।

नेपालमा उद्योग स्थापना र रोजगारी सृजना सम्बन्धमा यहाँको धारणा के छ ?

नेपालमा शाही शासनकालमा स्थापना भएका उद्योग धन्दाहरु अहिले किन बन्द भए ? हामीले नयाँ उद्योग किन खोल्न सकेनौं ? यसको जवाफ अब पार्टीहरुले दिनैपर्छ । उचित वातावरण बन्न सकेको खण्डमा नेपालमा  उद्योग खोल्नको लागि अहिले पैसाको कमी छैन । नेपालमा उद्योग खोल्नको लागि उचित वातावरण बन्न सकेको खण्डमा यहाँ हामीलाई पैसा कमी हुने छैन । उद्योगीहरु यहाँ कसैको आन्दोलन नभई राम्रो तवरले काम गर्ने वातावरण बन्छ भन्नेमा ढुक्क हुन सकेको खण्डमा यहाँ थुुप्रै व्यक्तिहरु लगानी गर्न तयार हुनेछन् । अहिले यहाँ काम गर्ने वातावरण नहुनुमा राज्यले विश्वासको वातावरण नबनाउनु नै मुख्य कारण हो । यसको लागि अब भ्रष्टाचारको निर्मूल पहिलो सर्त बनेको छ ।

अन्त्यमा यहाँले के भन्नुहुन्छ ?

देश विकासको लागि यति बेला स्वतःस्फूर्त रुपमा युवा व्यक्तिहरु अगाडि आएका छन् । देश विदेशको अनुभव र ज्ञान हासिल गरेका व्यक्तिहरु हाम्रो अभियानमा छन् । यी व्यक्तिहरुले नै अब देशको विकास गर्ने हुन् । नयाँ जोश र उत्साह सहित आएका व्यक्तिहरुलाई हामीले जितायौं भने अवश्य पनि नेपाल समृद्ध र स्वभिमान बन्न सक्छ । हामीले तत्कालै ठूलो परिवर्तनको अपेक्षा त गर्न नसकौंला, यद्यपि कम्तीमा राम्रो कामको शुरुवात त हुनेछ ।

विगतलाई नै हेरौं न, हामीले विद्युत प्राधिकरणमा जुन  प्रणाली विकास गरेर अहिले नेपाल लोडसेडिङमुक्त भई विदेशमा विद्युत निर्यात गर्न सक्ने  भएका छौं, यसको पछाडि व्यवस्थापनमा सुधार नै महत्वपूर्ण पक्ष रह्यो । यसरी नै आगामी दिनमा सबै क्षेत्रमा यस्तै प्रणाली विकास गर्न सकौं । शिक्षा, स्वास्थ्य, रोजगारी व्यवस्थापन, सार्वजनिक निकायबाट प्रवाह गरिने सेवा सबैमा यस्तै प्रणाली विकास गर्नु जरुरी छ । तब बन्नेछ समृद्ध नेपाल ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.