add

अहिलेको विद्यमान परिस्थिति र अबको आवश्यकता






ActPro Nepal

|

२८ कार्तिक, २०७९

|
415



दुर्गा विक्रम थापा, प्रतिनिधिसभा सदस्य उम्मेदवार, काठमाडौं क्षेत्र नम्बर ३, चुनाव चिन्ह घण्टी

नेपालमा भ्रष्टाचार व्यापक रुपमा वृद्धि भइरहेको छ । मूल्यवृद्धिले सीमा नाघिसकेको छ । प्रतिपरिवार मासिक खर्च चलाउनको लागि नै पचास हजार भन्दा बढी मासिक रुपमा कमाउनुपर्ने स्थिति छ । यस्तो व्यवस्थाले गर्दा जनताहरु आजित छन् । सबै जनताको हित हुने गरी अहिलेकै प्रणालीमा सामान्य परिमार्जन गरेर ठूलो उपलब्धि हासिल गर्न सकिने प्रणाली हामीले विकास गर्नुछ । यसको लागि हामीले काम गर्ने तौरतरिका बदल्नुपर्छ । स्वचालित प्रणालीको विकास र प्रयोग गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा जिम्मेवारीमा रहेका व्यक्तिको नियत शुद्ध हुनुपर्छ । सही व्यक्ति सही जिम्मेवारीमा पुग्न सकेको खण्डमा अहिलेका झण्झटहरुलाई धेरै हद सम्म न्यूनीकरण गर्न सकिन्छ । कर्मचारीतन्त्रबाट काममा हुने ढिलासुस्ती रोक्न राजनीतिक तहबाट पहल गर्नुपर्ने आवश्यकता छ । 

अहिले सबै सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरु राजनीतिक दलका भर्ती केन्द्र बनेका छन् । क्षमताको कदर गर्ने स्थिति कतै सृजना हुन सकेको पाईंदैन । अहिले प्रचलनमा रहेका ३ तहका सरकार मध्ये प्रदेश सरकार त नेपाली जनताको लागि ठूलो भारी नै सावित भइसकेको छ । हुनतः यो व्यवस्था जनताको हितको फलदायक सावित होस् भनेर ल्याइएको हो । यहाँ त त्यसो नभई व्यवस्था टिकाउनकै लागि नेपाली जनताले ठूलो भारी बोक्नुपर्ने अवस्था सृजना गरिएको छ । हाम्रो अवस्था र आवश्यकतालाई विचार गरेर दीर्घकालिन लाभ हुने तवरले काम गर्ने स्थिति अब विगतका परीक्षित पात्रहरुको मनस्थिति नसुध्रिए सम्म अब कदापि सम्भव हुने स्थिति छैन । 

जसरी विगतमा १८–२० घण्टा सम्म कायम रहँदै आएको लोडसेडिङलाई एकजना सुपात्र कुलमान घिसिङको उपस्थितिले विभिन्न विकल्प परीक्षण गर्दै जनतालाई पूर्ण रुपमा समाधान दिए । यस्ता सुपात्रहरु नेपालको लागि आवश्यक छन् । तब मात्र  हामीले नेपाल समृद्ध भएको देख्न सक्नछौं । यसको लागि क्षमतावान् सही व्यक्ति सही ठाउँमा पुग्न सक्नुपर्छ । जसबाट सेवाग्राही सहज रुपमा लाभान्वित हुन सकुन् । बिजुलीको बिल तिर्न प्राधिकरण जाँदा, कर तिर्न राजस्व कार्यालय जाँदा, कम्पनी दर्ता र अद्यावधिक गर्दा कम्पनी रजिष्ट्रार कार्यालय जाँदा, बस चढ्दा, अस्पतलामा चेकजाँच गर्न पाउँदा ठूलै युद्ध जितेको महसुस गर्नुपर्ने अवस्थामा सुधार नभएसम्म नेपाल कुनै तवरले पनि समृद्ध बन्न सक्दैन । जनताको जीवनस्तर माथि उठ्न सक्दैन । 

नयाँ एजेण्डालाई प्रोत्साहन आवश्यक

अबका राजनीतिक दलहरुले चुनावमा विजुली, पानी, सडक मात्र भनेर पुग्दैन । अब दिगो विकास, सुशासन र गुणात्मक विकासको लागि नीतिगत तहबाट नै पहल गर्ने सङ्कल्प दिनुपर्छ । हरेक ठाऊँमा विज्ञता भएका व्यक्तिलाई प्राथमिकता सहित काम गर्ने अवसर दिनुपर्छ । आफ्नो नाता र पहुँचको आधारमा राज्य शक्ति माथि हालिमुहालि भइरहने स्थिति अन्त्य गर्ने ठोस आधार दिनुपर्छ । यस्तो काम गर्न अब जो सक्षम हुन सक्छ, उसैलाई भोट दिने सच्चेतना नेपाली जनतामा पलाउन सकेको खण्डमा मात्र नेपालले उचित निकाश पाउनेछ । यही नै अहिलेको आवश्यकता बनेको छ । विगतका मूलधारका राजनीतिक शक्तिहरुले उचित डेलिभरी जनतालाई दिन नसकेकै कारण केही महिना पहिले मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको हो । सोही अभियानलाई साकार पार्न म यसै पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ३ मा चुनाव चिन्ह घण्टी लिएर उम्मेदवारी दिएको हुँ । 

अब साधारण प्रलोभनमा परेर आफ्नो र भावी पुस्ताको भविष्यलाई दाउमा लगाउने कि सुन्दर भविष्य निर्माणको परिकल्पना गरेर उचित पात्रलाई मतदान मार्फत विजयी बनाई हाम्रो सुनौलो भविष्य कोर्ने त्यो विकल्प नेपाली जनताले छनौट गर्ने ? उचित समय यही हुनेछ ।

(राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार दुर्गा विक्रम थापासँगको कुराकानीको सम्पादित अंश)



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.