काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने बताएका छन।
वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं १० ले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले ठूलो सङ्घर्षपछि प्राप्त भएको संविधानको रक्षा गर्नु आजको आवश्यकता भएको बताए।
प्रधानमन्त्रीले भने, 'यो राष्ट्रले धेरै ठूलो लडाइँपछि संविधान पाएको छ । पद्धति पाएको छ । संविधानले नै ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको छ । आदिवासी, जनजाति सबैलाई हक दिएको छ । यो समावेशी संविधान मात्रै नभई सबै समावेशी लोकतन्त्र पनि छ ।'
सबै वर्ग तथा क्षेत्र अटाउने संविधानलाई बचाउने लक्ष्यका साथ गठबन्धन बनेको उनको भनाइ छ । प्रधानमन्त्रीले भने, 'हाम्रोमा स्थापित भएको समावेशी प्रजातन्त्र र राजनीतिलाई बचाई राख्नुछ । नेपाली जनताले निर्वाचनमार्फत सरकार बनाउन पाउने, बदल्न पाउने अधिकार पाएका छन् । यो महत्वपूर्ण छ । यसलाई स्थायी राख्न पनि हामी एक ठाउँमा उभिएका छौँ ।'
प्रधानमन्त्री देउवाले जथाभावी तरिकाले ओली (नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली) ले दुई दुई पटक संसद् भङ्ग गरेपछि आफूहरू मिलेर त्यसलाई बचाएको दृष्टान्त पेश गरे।
प्रधानमन्त्रीले भने, 'दुई पटक संसद् भङ्ग गर्न थालेपछि हामीले प्रजातन्त्र बचाएका हाैं। लोकतन्त्र र समावेशी प्रजातन्त्र बचाएका हौँ । यसलाई स्थायी बनाउन गठबन्धन बनेको छ।'
गठबन्धनको एउटै शर्त स्थायी लोकतन्त्रलाई समृद्ध पार्नु रहेको उल्लेख गर्दै उनले जनताले पाएको अधिकार कमजोर गर्न नसकोस् र हटाउन नसकोस् भनेर गठबन्धन बनेको उल्लेख गरे। उनले गठबन्धन आगामी १० देखि १५ वर्षसम्म जाने विश्वास व्यक्त गरे।
स्थायी शान्ति र लोकतन्त्रको सम्वद्र्धनका लागि गठबन्धन अपिरहार्य रहेको प्रधानमन्त्रीको भनाइ छ । उनले सडक विस्तारका क्रममा समस्यामा परेका स्थानीयबासीलाई मुआब्जा दिने विश्वास दिलाए।
'कसैको पनि सम्पत्ति बिना मुआब्जा भत्काउन पाइँदैन । भत्काउन त पाइन्छ, तर मुआब्जा दिएपछि मात्रै,' प्रधानमन्त्रीले भने, 'अब मुआब्जा दिलाउने काम उहाँ (सो क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजन केसी) को हो।'
कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई कायम राख्दै मुलुकको सर्वाङ्गीण विकासका लागि गठबन्धनको जीत जरुरी रहेको बताए।
विकास र समृद्धिको गति अगाडि बढाउनका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै उनले शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रको विकासका लागि पनि आफूले ध्यान केन्द्रीत गरेको बताए। उनले व्यापार घाटा कम गर्दै बेरोजगारीको अन्त्य र परनिर्भरताको अन्त्य गर्न लगानीको विस्तार जरुरी रहेकामा जोड दिए।
सो क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार केसीले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनको उम्मेदवारलाई विजयी गराउन आग्रह गरे। उनले कृषि पर्यटन र ऊर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने बताए। उनले आफू ठोस योजना र कार्यक्रमसहित जनताको बीचमा आएको उल्लेख गरे।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।