मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मोरङ क्षेत्र नम्बर ३ की उम्मेदवार रेखा थापाले ‘पार्टी बचाउन कहिलेसम्म छोरानातिलाई खाडी पठाउने’ भन्दै मतदातालाई प्रश्न गरेकी छन् ।
शुक्रबार थापाले घरदैलो कार्यक्रमको २५औँ दिन बेलबारी २ पुगेर यस्तो प्रश्न गरेकी हुन् । उनले भनिन्, ‘पार्टी पार्टी भनेर कति त्यही पार्टीसँग सति जानुहुन्छ ? आफ्नो घर बिग्रेको थाहा छैन, छोरानातिलाई खाडी पठायो अनि मेरो महान् पार्टी फलानो भन्यो दौडियो । आफ्नो सन्तान बचाउन नसक्ने तपाईंको महान् पार्टी कहिलेसम्म जोगाइदिने ? कसको लागि जोगाइदिने ? अब पनि बुझ्नुभएन भने के राजनीति गर्नुहुन्छ ?’
थापाले युवा पुस्तालाई नेताको पछाडि नदौडिन आग्रह गरेकी छन् । भ्रष्ट नियत भएका नेताको पछि दौडिएर युवा पुस्ताले आफ्नो समय बर्बाद गर्न नहुनेमा उनले जोड दिएकी छन् । उनले भनिन्, ‘म मेरा दाजुभाइहरूलाई अनुरोध गर्छु । कुनै नेताको पछाडि जिन्दावाद र मुर्दावाद भन्दै नदौडिनुहोला । आज जुन नेताको पछि दौडनु हुन्छ त्यही नेता ठाउँमा पुग्लान् तर चुनाव सकिएको २/४ दिन पनि बित्न नपाउँदै मेरा दाजुभाइ कुन खाडी मुलुक पुग्ने हो थाह छैन ।’
उनले युवाहरूलाई केही काम नभए घरमा आमा श्रीमतीलाई काम सघाउन आग्रह गरेकी छन् । उनले भनिन्, ‘काम सघाउँदा बरू आमा त खुसी हुन्छिन् । त्यो तपाईंको मत किनेर गएको नेताले जितेको भोलिपल्ट तपाईंलाई चिन्दैन । के को लागि हिँड्ने जिन्दावाद, जिन्दावाद गर्दै ?’
थापाले आफू नेता बन्नको लागि राजनीतिमा नलागेको जिकीर गरेकी छन् । जनताले अनुमोदन गरे जनप्रतिनिधिको परिभाषा ५ वर्षमा परिवर्तन गरेर देखाउने बताएकी छन् । उनले भनिन्, ‘जनता र जनप्रतिनिधिबीचको खाडल भर्न आएकी हुँ । ५ वर्षमा मैले गरेको काम देखेर चित्त बुझ्यो भने त्यो बेला मलाई नेता मान्नु । अहिले म नितान्त तपाईंहरूको सेवक बन्न आएकी हुँ । ममाथि मत लगानी गरेर मलाई सेवा गर्ने अनुमति दिनुहोस् भन्न आएको हुँ ।’
नेपाली जनताले धेरै पटक पार्टी जोगाएको र अब परिवर्तनका लागि युवा पुस्ताको जोस–जाँगर जोगाउनेमा आफू विश्वस्त रहेको थापाले बताइन् ।
उनले मोरङ ३ परिवर्तनको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेकी छन् । थापालाई महिला, नयाँ मतदाता र सुकुम्वासीहरूको बलियो साथ रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।