add

कांग्रेस नेता भण्डारी भन्छन् ‍‍- नेपालका नेताहरू धेरै बेइमान भए






ActPro Nepal

|

२४ कार्तिक, २०७९

|
341

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् ।

उनले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आसन्न निर्वाचनबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको बताए । नेता भण्डारीले नेताहरूले लुटेको सम्पत्तिलाई फिर्ता गर्नुपर्ने दिन आइसकेको बताए । उनले राजनीतिक दलहरूले नेपालमा रोजगारीको अवसरको खोजी नगरी युवाहरूलाई विदेश पठाउने गरेको भन्दै यस्ता तत्त्वहरूलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताए । 

नेता भण्डारीले नेपालले अहिले ७ खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने शक्तिलाई जनताले निर्वाचनबाट चुन्नुपर्ने आवश्यकता भएको बताए । उनले नेपाली राजनीतिमा बेइमान नेताहरू भएको बताए । बेइमान नेताहरूका कारण देश र देशको सौन्दर्यलाई चिन्न नसकेको बताए । उनले खरको छाना हालेर बस्नेहरूलाई गरिब भनेर विस्थापित गर्ने र अहिले सहरमा खरकै छाना बनाएर करोडौँ कमाइरहेको बताए । 

‘युवाहरूलाई विदेश पठाएर नेपालमा अवसरको खोजी नगर्ने दोस्रो रोग हो । नेपाललाई रित्तै गर्ने, जोस छैन, जाँगर छैन । यसको निदान हामीले गर्नुपर्छ । आज हामी ७ खर्ब विदेशी ऋणको ब्याज तिर्दै छौँ । २२ खर्ब व्यापार घाटा छ । १२ खर्ब राजश्व उठ्छ जम्मा । कहाँबाट विकास गर्ने नेपालले,’ उनले भने, ‘हाम्रा घरका बस्तीलाई हामीले गरिब बस्ती भनेर हेप्यौँ, तर अहिले सहरमा खरको छानोले छाएको टहरा बनाएर करोडौँको व्यापार गरिरहेका छन् । न हामीले देश चिन्यौँ, न त हाम्रो सौन्दर्य नै । हामी नेपाली भूमिका बेइमान सन्तान र नेताहरू हौँ । अब यसको अन्त्य हामीले गर्नुपर्छ  र मंसिर ४ गते बिदाइ गर्नुपर्छ ।’

नेता भण्डारीले मुलुकलाई दुरावस्थामा पुर्‍याउने नेताहरूलाई आसन्न निर्वाचनबाट बिदाइ गर्नुपर्ने बताए । उनले आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमुना जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.