काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आज (साउन १३ शुक्रवार) देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन्।
उक्त आईपीओमा प्रतिकित्ता रू.१०० का दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा माग बमोजिम आवेदन नपरेमा साउन २७ गतेसम्म थप हुनेछ । आईपीओमा प्रबन्धकमा एनआईबीएल एस क्यापिटलसँगै सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हाल कम्पनीको चुक्ता पूँजी रू. २१ करोड रहेको छ । आईपीओ निष्कासन बाँडफाँटपश्चात् पूँजी रू.३० करोड पुग्नेछ ।
कम्पनीले बाग्लुङ जिल्लामा २ दशमलव ५ मेगावाटको ‘दरम खोला ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।