काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले विश्वव्यापी रूपमा फैलिएको मंकीपक्सको सङ्क्रमण रोक्न सरकारले पूर्व तयारी नगरेको बताएका छन्।
प्रतिनिधि सभामा बोल्दै नेता भट्टराईले मंकीपक्स र हैजा नियन्त्रणमा सरकार उदासिन देखिएकाको उनको आरोप छ।
नेता भट्टराईले मंकीपक्सले विकसित देशलाई समेत हायल–कायल बनाएको अवस्थामा नेपाल सरकार मौन बसेको बताए। उनले विश्वमा १८ हजार १९४ जनामा संक्रमण देखिएको र ५ जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको बताए।
भारतमा समेत चार जनामा मंकीपक्स देखिएको बताउँदै नेपाल भयानक अवस्थाबाट टाढा नरहेको बताए । सीमा नाकामा कडाइ तथा चेकजाँच गर्ने, आम जनतालाई सचेत गराउने जस्ता कदम चाल्नुपर्ने उनले बताए ।
यस्तै, नेता भट्टराईले नेपालमा हैजाको संक्रमण बढ्दै गएकाले नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। उनले हैजाको संक्रमण विस्तारै समुदायस्तरमा फैलिने क्रममा रहेकाले समयमै नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारलाई अनुरोध गरेका छन्।
उनले जारको पानीसमेत शुद्ध नभएको भन्दै पानीका स्रोतहरु शुद्धिकरण गर्न सरकारले ध्यान दिनुपर्ने बताए। गाउँसम्म फैलिएमा महामारीकै रुप लिने भन्दै उनले समयमै सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।