काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले जेठ २० गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
निष्काशन हुने कुल सेयरमध्ये ६० हजार कित्ता (४ प्रतिशत) सेयर कर्मचारी र ७५ हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीको आइपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी प्लस आइएस’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले लमजुङको क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिका भएर बहने रुदी खोलामा रुदी ‘ए’ ८.८ मेगावाट र रुदी ‘बी’ ६.६ मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको छ ।
कति कित्ता भर्नु उपयुक्त ?
धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।
कम्पनीले सर्वसाधरणलाई १३ लाख ६५ हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा १ लाख ३६ हजार ५०० जनालाई मात्र सेयर दिन पुग्छ ।
यसअघि खुलेका आइपीओमा २६ लाख बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नुपर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात् १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।