add

स्थानीय उत्पादनको प्रवर्द्धन मार्फत आर्थिक उपार्जनमा जोड दिउँ : गोविन्द महर्जन






ActPro Nepal

|

३० चैत, २०७८

|
1366

काठमाडौंका स्थानीय बासिन्दा गोविन्द महर्जनको परिवार विगतमा कृषि पेशामा आश्रित थियो । उनका बुबाआमाहरु कृषि कार्यमा नै निर्भर हुनुहुन्थ्योे । अहिले गोविन्द हस्तकला व्यवसायमा संलग्न भई राम्रो पहिचान स्थापना गर्न सफल छन् ।

हस्तकला व्यवसायमा आफ्नै बलबुताले जमेका गोविन्द मूलतः हस्तकला अन्तरगत मुकुण्डो (मास्क) र काष्ठकला क्षेत्रमा संलग्न रहेर काम गर्दै आएका छन् । हस्तकला क्षेत्रमा गोविन्दले करिब ३ दशक व्यतित गरिसकेका छन् । महर्जन हस्तकला व्यवसायको अलावा विशालबजार लायन्स क्लबमा पनि आवद्ध रहँदै आएका छन् । व्यवसायीले सामाजिक दायित्व पनि निर्वाह गर्नुपर्छ भन्ने मान्यताले उनी लायन्स क्लबमा संलग्न भएका हुन् । मुख्यतः हस्तकला क्षेत्रमा संलग्न रही काम गर्दै आएका महर्जन नेपालमा हस्तकला क्षेत्रको सम्भावना निकै राम्रो रहेको महसुस गर्छन् । ग्रामीण महिलाहरुका सीप र स्थानीय स्रोतको प्रवर्द्धनको लागि काम गर्न सकेको खण्डमा ग्रामीण भेगका मानिसहरुको जीवनस्तर माथि उठ्न सक्नेमा उनी विश्वस्त छन् ।

कठिन बन्दै व्यावसायिक वातावरण

लामो समय हस्तकला व्यवसायमा संलग्न रहने क्रममा थुप्रै आरोहअवरोहहरु सामना गरेका गोविन्द पछिल्ला दिनहरुमा नेपालमा रहेर व्यवसाय गर्ने कार्य निकै चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । अहिले नयाँ पुस्ताका व्यक्तिहरु नेपालका परम्परागत व्यवसायहरुमा संलग्न हुनै नचाहने स्थिति सृजना हुनु र उत्पादनमूलक उद्योगहरुको लागि जनशक्तिको व्यवस्थापन जटिल बन्दै जानुले नेपालमा उत्पादन कार्य थप असहज बन्दै गएको उनको बुझाई छ । काठमाडौंमा उद्योग स्थापनाको लागि मुख्य केन्द्रमा जग्गा भाडामा पाउन निकै कठिन एवं महँगो रहेको र बजार समेत सहज रुपमा व्यवस्थापन हुन नसक्दा व्यवसाय गर्न निकै समस्या हुने गरेको बताउँछन् गोविन्द ।

चुनौतीपूर्ण बन्दै उद्योगको लागि जग्गा व्यवस्थापन

गोविन्द महर्जन मूलतः हस्तकला उद्योगी हुन् । उनी हस्तकलाजन्य सामाग्रीहरुको व्यवसायमा पनि संलग्न रहँदै आएका छन् । आफ्नो उद्योग÷व्यवसाय मार्फत विगतमा आफ्नो व्यवसाय मार्फत सृजना हुँदै आएको ठूलो परिमाणको रोजगारी कटौती भएको छ । हाल उनले आफ्नो उद्योगबाट नियमित रुपमा ५–७ जना व्यक्तिहरुलाई रोजगारी सृजना गर्न पनि मुस्किल हुने गरेको छ । आवश्यकता बमोजिम जग्गा अभाव, लामो समयको लागि जग्गा पाउन सक्ने स्थिति नरहेको एवं सम्झौता पूरा नहुँदै जग्गा छोड्न बाध्य हुनुपर्ने अवस्था लगायत विभिन्न परिस्थितिको मारमा गोविन्द पनि पर्दै आएका छन् । यसले गर्दा आफूले कहिले एक त कहिले अर्को ठाउँमा स्थानान्तरण गर्दै उद्योग सञ्चालन गर्नुपरेको गोविन्द बताउँछन् । राज्यले उद्योग स्थापनाको लागि सहज रुपमा जग्गा व्यवस्थापन सम्बन्धी उचित नीतिगत व्यवस्था गर्न नसक्दा नेपालका उद्योगीहरु प्रभावित हुँदै आएको र सहज रुपमा उद्योग स्थापना कार्यमा संलग्न हुन तयार नहुने उनको बुझाई छ ।

लगानीमैत्री वातावरण निर्माण राजनीतिक दलको भूमिका

गोविन्दको बुझाईमा नेपालमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने लगानीमैत्री (उद्योगमैत्री) वातावरण निर्माण हुन नसक्नुमा एक पक्ष मात्र जिम्मेवार छैन । यहाँका विभिन्न राजनीतिक दलहरु पनि उद्योग स्थापना सम्बन्धी सामुहिक निर्णय मार्फत सहज वातावरण निर्माणमा तयार हुनु जरुरी छ । मुलुकमा अझै पनि राजनीतिक रुपमा स्थिर वातावरण बन्न सकेको छैन । यसको प्रभाव जनताबाट निर्वाचित प्रतिनिधिहरुले पूर्ण कार्यकाल आफ्नो कार्यभार सम्हाल्ने स्थिति बन्न सकेको छैन ।

स्वदेशमा रोजगारी सृजनामा जोड दिनु जरुरी

खुला बजार अर्थतन्त्रलाई अवलम्बन गरेको नेपालले यहाँ ठूलो परिमाणमा रोजगारी सृजना गर्ने उद्योग स्थापनालाई प्रोत्साहन नगरी यहाँका जनशक्तिहरुलाई रोजगारीको लागि बाहिर जान खुल्ला गरेको छ । यसले हाम्रो अर्थतन्त्रलाई मजबुत बनाउने नभई कमजोर बनाउनको लागि बल पु¥याएको छ । राज्यकै जनशक्ति नीतिको प्रभाव स्वरुप अहिले राज्य भित्र निर्यातको तुलनामा आयात वृद्धि हुने क्रम बढ्दो छ । यसलाई समयमा नै सम्बोधन गर्न नसके अवस्था अझ भयावह बन्दै जानेछ । यस्तो अवस्थामा तत्काल राज्यले आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई प्रोत्साहन गर्न नसकेपनि व्यापार सन्तुलन सम्बन्धमा राज्य पक्ष थप जिम्मेवार हुनु जरुरी छ ।

राज्य पक्षले निर्वाह गर्नुपर्ने भूमिका

राज्यले मुलुकमा सबै नागरिकको लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । यद्यपि अहिले राज्यले न त हामीसँग उपलब्ध स्रोत र साधनको सही तवरले पहिचान र उपयोग गर्न सकेको छ । न त जनशक्तिको उचित व्यवस्थापनमा नै जोड दिएको छ । हामीसँग थुप्रै सम्भावनाहरु छन् । सीपयुक्त जनशक्तिहरु छन् । अलग–अलग जात र संस्कृति बमोजिम हाम्रा सीप, कला र प्रविधि पनि पृथक छन् । ती सीप, कला र प्रविधि पनि हाम्रा सम्पत्ति हुन् भन्ने कुरा राज्यले महसुस गर्न सक्नुपर्छ । राज्यले त्यस्ता सीप र कलाको संरक्षणको लागि उचित नीति लिनु जरुरी छ ।

मुलुकको समृद्धिमा निर्यात क्षेत्रको महत्व

जुनसुकै मुलुकको समृद्धिको लागि पनि निर्यात क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । तुलनात्मक रुपमा राम्रो लाभ रहेका वस्तुहरु निर्यात गरेर राम्रो लाभ लिन सकिन्छ । यद्यपि नेपालमा भने निर्यातको तुलनामा आयात दर उच्च छ । निर्यातजन्य वस्तुहरु उत्पादनको लागि पनि कच्चा पदार्थ भने आयात नै गर्नुपर्ने बाध्यता हामीलाई छ । नेपालमा खपत (उपभोग) हुने वस्तुको स्वदेशी उत्पादन अत्यन्तै न्यून बन्दै गएको छ । जुन दुखद छ । अहिले नेपाल आयातमा नै निर्भर बनिरहँदा बाह्य मुद्रा भित्र्याउने माध्यम निर्यात नै बन्दै गएको छ । नेपालबाट निर्यात हुने चिया, कफी, अलैंची लगायत बाहेक अन्य सबैजसो वस्तुहरु हस्तकलाजन्य नै रहेको पाउन सकिन्छ । अहिले नेपालबाट निर्यात हुने मुख्य वस्तुहरुमा मुर्तिकला, काष्ठकला, चित्रकला, पश्मिना, गलैंचा, फेल्टजन्य वस्तुहरु लगायत रहँदै आएका छन् । यी वस्तुहरुको अधिकांश उत्पादन काठमाडौं उपत्यकामा नै हुने गरेको छ । केही उपत्यका भन्दा बाहिरका स्थानीय प्राकृतिक स्रोतसाधन र सीपमा आधारित वस्तुहरु पनि निर्यात हुनेगरेपनि त्यसको परिमाण कम छ । यस्तो अवस्थामा जुन ठाउँमा जे सम्भावना छ, त्यहाँ सोही बमोजिमका वस्तुहरु उत्पादनको लागि स्थानीयहरुलाई प्रोत्साहित गर्नु जरुरी छ । त्यसको लागि राज्य पक्षले युवाहरुलाई आवश्यकता बमोजिमको तालिम प्रदान गर्ने, वस्तु उत्पादन एवं बजारको सुनिश्चितता लगायतमा सहजीकरण आवश्यक छ । अहिले स्थानीय रुपमा उपलब्ध स्रोत साधनको सही तवरले परिचालन हुन सकेका छैनन् । थुप्रै कच्चा पदार्थहरु नेपालमा खेर गइरहेका छन् । कतिपय स्रोतसाधन उपयोगको ज्ञान नहुँदा ती स्रोतसाधन यत्तिकै नष्ट भइरहेका छन् भने कतिपय राज्यले समन्वयनकारी भूमिका निर्वाह गर्न नसक्दा प्रयोगमा आउन सकेका छैनन् ।

वैकल्पिक वस्तु उत्पादनमा जोड दिन जरुरी

हाम्रा छिमेकी देशहरुले नवविकसित प्रविधिको प्रयोगलाई आत्मसात् गरी प्राकृतिक जस्तै देखिने केही वैकल्पिक वस्तुहरुको उत्पादनलाई समेत प्रवर्द्धन गर्दै आएका छन् ।

हामीले अहिले सम्म त्यसो गर्न सकेका छैनौं । हेर्दा आकर्षक र प्राकृतिक जस्तै देखिने तर विभिन्न रसायनको सम्मिश्रणबाट तयार हुने त्यस्ता वस्तुहरुले हामीलाई प्रकृति संरक्षणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । नेपालमा हामीले अहिले सम्म यस कुरालाई ध्यान दिन सकेका छैनौं ।

यस्ता उत्पादनमा पनि ध्यान दिने कि ?

हाम्रो प्राकृतिक वातावरणमा उपलब्ध हुने केरा, अल्लो, दुना, टपरी, सिस्नो, नरिवलका पात, बाँस, फलफूलका बोक्रा लगायतबाट पनि हामीले निकै आकर्षक सजावटका सामान, औषधीजन्य वस्तुहरु एवं श्रृङ्गारका वस्तुहरु उत्पादन गर्न सक्छौं । जसबाट हाम्रो उत्पादकत्व बढाउन ठूलो सहयोग पुग्छ । हामीले राम्रो लाभ लिन सक्छौं । साथै स्थानीय तवरमा रोजगारी सृजनामा पनि सहयोग पुग्न सक्छ । उद्यमशिलता फस्टाउन सहयोग पुग्न सक्छ । जुन अहिलेको आवश्यकता समेत हो ।

अबको आवश्यकता

अब हामीले कसरी बढी लाभ सकिन्छ भन्ने कुरालाई मध्यभागमा राखेर हाम्रो विकासको नीति अवलम्बन गर्नुपर्छ । प्रविधिको प्रयोगलाई सँगसँगै लैजानु जरुरी छ । जसबाट न्यून लागतमा सहज रुपमा हाम्रा वस्तु उत्पादन तथा बजारीकरणमा सहयोग पुग्न सकोस् । सेवाग्राही सहज रुपमा लाभान्वित हुन सकुन् । यसका लागि राज्य पक्ष थप उदार हुनु जरुरी समेत छ ।

तुलनात्मक लाभको गाँजा खेती प्रोत्साहित गरौं

अहिले पनि नेपाल सरकारले गाँजा लगायत केही वस्तुहरुको उत्पादनलाई प्रतिबन्धित गर्दै आएको छ । समयक्रममा एकपटक प्रतिबन्धित गरिएको वस्तुलाई त्यसका लाभदायक पक्षहरुलाई विचार गरी पुन सुचारु गर्नुपर्ने आवश्यकता रहने समेत रहन्छ । कुनै उत्पादनबाट हामीले कति लाभ हासिल गर्न सक्छौं र त्यसका वेफाइदा वा गलत पक्ष के हुन सक्छन् भन्ने कुरालाई राम्रोसँग अध्ययन गरी गलत प्रयोगलाई निरुत्साहित गर्न नियमनको उचित नीतिगत व्यवस्था सहित काम गर्न सकेको खण्डमा हामीले अवश्य पनि लाभ लिन सक्छौं ।

अन्त्यमा

हस्तकला क्षेत्रलाई राम्रोसँग प्रवर्द्धन गर्न सकेको खण्डमा यस क्षेत्रबाट नेपालमा ठूलो परिमाणमा रोजगारी सिर्जना गर्न सकिन्छ । यसको लागि राज्य पक्षको सहयोग पनि महत्वपूर्ण रहने गर्छ । यद्यपि अहिले राज्य पक्षले व्यावसायिक प्रवर्द्धनको लागि केही कार्यक्रमहरु अघी सारेपनि जुन रुपमा राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने थियो, त्यस किसिमले काम गर्न सकेको छैन । बढ्दो मूल्यवृद्धि, कच्चा पदार्थको आपुर्तिमा कठिनाई, उच्च लागत लगायतका विभिन्न कारणहरुले गर्दा नेपालमा काम गर्न कठिन अवस्था छ । समयानुकुल कामदारको ज्यालादरमा वृद्धि हुन सकेको छैन । उद्योगको मुनाफादर घट्दो छ । यस्ता विविध आन्तरिक समस्याहरुको वावजुद राज्यले विदेश निर्यात सम्बन्धमा स्पष्ट नीति सहित अघी बढ्नु जरुरी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.