काठमाडौं । गैरआवासीय नेपाली संघ (एनरआएनए) मा चर्किएको विवाद समाधान भएको छ। सोमबार राति अबेरसम्म भएको दुईपक्षीय वार्तामा दुई अध्यक्षात्मक प्रणालीसहित महत्त्वपूर्ण पदहरू थप्ने सहमति भएपछि विवाद मिलेको हो। विधान संशोधन गरेर आवश्यक व्यवस्था गर्ने सहमति भएको छ।
सहमति जुटेपछि शेष घले पक्षले मार्च २४ र २५ मा गर्ने भनेको छुट्टै महाधिवेशन रोकिने भएको छ। यस्तै अदालतमा रहेको मुद्दा पनि फिर्ता लिएर तोकिएकै समय २४ र २५ तारिखको चुनाव र त्यसपछिको महाधिवेशन एकताको महाधिवेशनको रूपमा गरिने बताइएको छ।
संस्थापन पक्षले प्रतिनिधि छनोटमा धाँधली गरेको भन्दै कुल आचार्य पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी गरेपछि एनआरएनएमा विवाद बढेको थियो विवादकै कारण गत अक्टोबरमा हुने भनिएको महाधिवेशन स्थगित हुँदै आएको थियो।
विवादले उग्र रूप लिएपछि शेष घले र कुल आचार्य पक्षको छुट्टाछुट्टै महाधिवेशन घोषणा गरिएको थियो। अब सहमतिअनुसार कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने बताइएको छ।
पहिलो १ वर्ष कुल आचार्यले बैठकको अध्यक्षता गर्ने र त्यसपछि बद्री केसीले गर्ने समझदारी भएको छ। यस्तै अध्यक्षमा उम्मेदवारी दिएकी रविना थापालाई अन्य पदमा सम्मानजनक हैसियत दिने गरी सहमति भएको बताइएको छ। सहमतिबारे आजै कुल आचार्य र बद्री केसीले एनआरएनएको कार्यालयमा संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।