काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-६ डाडाँपौवा रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेकामा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उद्धवराज पुरीको दुईतले घरको दोस्रो तलामा भाडाका बस्दै आएका प्रधान परिवारमा सो घटना भएको हो।
घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी वृत्त (स्वयम्भू) र महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली पुगेर उनीहरूलाई मनमोहन मेमोरियल अस्पताल (स्वयम्भू) लगेको थियो। तर तीमध्ये वर्ष ३३ का सुर्वणमान प्रधानलाई भने चिकित्सकले सोमबार साँझ साढे ८ बजे मृत घोषणा गरेकाे प्रहरीले जनाएकाे छ।
अन्य चार जनाको भने उपचार जारी छ। एसपी मैनालीका अनुसार वर्ष ६२ की इन्दिरामाया प्रधान, वर्ष ३८ का भीममान प्रधान, वर्ष ३५ की मन्दिरा प्रधान र वर्ष ११ की सुप्रिया प्रधानको उपचार भइरहेको हो। तर उनीहरू चारै जना अझै बोल्न सक्ने अवस्थामा नरहेको उनले बताए।
पाँचै जना भित्रबाट ढोका बन्द गरिएको अवस्थामा बेहोस भेटिएका थिए।
विषादी खानुको कारण तथा समय नखुलेको र घटना सम्बन्धमा प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान गरिरहेको एसपी मैनालीले जानकारी दिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।