काठमाडौं । नेपाली कांग्रेसका महमन्त्री गगन थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताए । नेपाली कांग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले कम्युनिष्टहरूले उत्तेजनाको राजनीति गरिरहेको बताएका हुन् ।
एमसीसी सम्झौतामा कम्युनिष्टले दोहोरो भूमिका खेलेर जनतालाई उत्तेजित बनाएको उल्लेख गर्दै उनले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यति ठूलो परियोजनामा सबैलाई मिलाउन सफल बनेको बताए ।
थापाले जनताबीच कांग्रेसको परिचय फरक रहेको उल्लेख गर्दै कांग्रेसले सधैँ उत्तेजना फैलाउने नभई चेतना फैलाउने, भड्काउने नभई मिलाउने जस्ता चरित्र देखाउँदै आएको बताए । आसन्न निर्वाचनका लागि पार्टी संगठन मजबुद बनाउँदै अघि बढ्नुपर्ने थापाले बताए ।
आगामी निर्वाचनमा ठूलो वा सानो जोसुकै नेता भए पनि उसले आफ्नो टोललाई सम्हाल्ने जिम्मा लिनुपर्ने उनको भनाइ छ।
नेपाली कांग्रेस मादी गाउँपालिका सभापति यामबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य गुरु बराल, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापा, कांग्रेस नेत्री कोपिला रानाभाट, कृष्णचन्द्र बराललगायतले आसन्न निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टीकारुपमा स्थापित गर्नेगरी अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।