काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बृहत्तर सहमतिका साथ एमसीसी अनुमोदन भएको बताएका छन्।
प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएको भोलिपल्ट आज पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेका महतले भने, ‘एमसीसीको विषयमा जुन अफवाह, भ्रम र द्विविधा जनमानसमा परेको थियो, त्यसलाई चिर्दै बृहत्तर सहमतिका साथ अमेरिकी सरकारबाट प्राप्त हुने विकास अनुदान अनुमोदन गर्ने निर्णय भयो। सम्झौतामा रहेका विषयवस्तुका सम्बन्धमा नेपालको आफ्नो बुझाइका सम्बन्धमा पनि सरकारले निर्णय गरी संसद्मा व्याख्यात्मक घोषणा गर्यो। त्यो भनेको हामीले त्यो सम्झौतालाई कुन रुपमा बुझेका छौं, त्यही नै हो।’
पनि विपक्षी दलले अन्य मुद्दाका कारण औपचारिक रुपमा सहभागिता नजनाए पनि एमसीसीमा सहयोग नै गरेको महतले बताए। ‘एमालेले पनि सहयोग नै गरेको हामीले बुझेका छौं। अपवादबाहेक सबैको सहयोगले एमसीसी पारित भएको छ। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्वता र धैर्यताले यो विन्दुमा सहमतिका साथ पुगेर यो परियोजनालाई संसदमार्फत अनुमोदन गर्ने आधार सिर्जना भयो। जनताले पनि कांग्रेसको सुझबुझपूर्ण निर्णयको प्रसंशा गरिरहेका छन्। हामी सत्तामा हुँदा र बाहिर हुँदा पनि एकनासले कुरा राख्यौं। कांग्रेस नै यस्तो पार्टी हो जसले परिपक्व निर्णय गर्छ र त्यसमा उभिन्छ भन्ने सन्देश दिएको छ,’ महतले भने।
एमसीसीबारे बाँकी केही भ्रम पनि छन् भने त्यसलाई पनि चिर्न कांग्रेस लागिरहने महतले बताए। उनले भने। ‘अझै पनि केही साथीहरुले नकारात्मक दृष्टिकोण राखिरहनु भएको छ। उहाँहरुलाई हामी भन्न चाहन्छौं– यो केवल विकास परियोजना हो। यसको अन्य मक्सद छैन। एमसीसीको मूल डकुेमन्ट र व्याख्यात्मक घोषणामा पनि यही कुरा उल्लेख छ। विद्युत प्रसारणलाइन र सडक निर्माणमा यो पैसा खर्च हुन्छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ठेक्क लाग्छ। अब आयोजना अघि बढ्ने सुनिश्चित भएको छ। हाम्रो ध्यान आयोजना समयमै सम्पन्न गर्नेतर्फ हुनुपर्छ। आयोजनाको सफलताले तमाम भ्रम आफैं समाप्त भएर विकास र सहयोगको सम्बन्धमा नयाँ अध्याय प्रारम्भ हुनेछ।’
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।