add

विकास बैंकको नाफामा दोब्बर वृद्धि, कुनले कति कमाए ?






ActPro Nepal

|

१७ माघ, २०७८

|
552

काठमाडौँ । चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा विकास बैंकहरूको नाफा १२.२४ प्रतिशतले बृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत १५ ओटा बैंकहरूले सार्वजनिक गरेको रिर्पोटअनुसार पुस मसान्तसम्ममा विकास बैंकहरूले गत बर्षको सोही अवधिको तुलनामा ३ अर्ब ३४ करोड ८ लाख ७४ हजार रुपैयाँ नाफा गरेको हो । गत बर्ष भने सो रकम २ अर्ब ९७ करोड ६४ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा ६ ओटा विकास बैंकको नाफा गत बर्षको सोही अवधिको तुलनामा घटेको छ भने सातओटा बैंकको नाफा बृद्धि भएको छ । पुस मसान्तसम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरूमध्ये मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकको नाफा घटेको छ भने पाँच जिल्ले विकास बैंकहरूमा मितेरी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र तीन जिल्लामा मात्रै सेवा प्रवाह गर्दै आएको कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा घटेको छ । 

त्यस्तै, राष्ट्रिय स्तरका गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक र पाँच जिल्लामा सेवा सुविधा प्रवाह गर्दै आएको सिन्धु विकास बैंकको नाफा बृद्धि भएको छ । यसैगरी तीन जिल्लामा सेवा प्रवाह गर्दै आएको कर्णाली डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकको नाफामा भने ऋणात्मक रहेको देखिएको छ । 

कुन बैंकको नाफा कति ? 

रकमका आधारमा गत बर्ष पुस मसान्तको तुलनामा यस बर्ष नाफा सामान्य घटेको मुक्तिनाथ विकासले सर्वाधिक बढी नाफा कमाएको छ । समीक्षा अवधिमा २.१४ प्रतिशतले घटे पनि मुक्तिनाथले ६० करोड २४ लाख ६ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा रकम अन्य बैंकको तुलनामा सर्वाधिक बढी हो ।

गत बर्ष सोही अवधिमा बैंकले ६१ करोड ५५ लाख ७३ हजार रुपैया नाफा कमाएको छ । तुलनात्मक रूपमा यस बर्ष साङ्ग्रिला डेभलपमेन्ट बैंकको नाफा सर्वाधिक बढी बृद्धि भएको छ । यस बर्ष साङ्ग्रिलाले नाफा रकम ५८.८७ प्रतिशतले बृद्धि गरी २६ करोड १८ लाख २२ हजार रुपैयाँ पुर्याएको छ । गत बर्ष पुस मसान्तसम्मा यस बैंकको नाफा १६ करोड ४८ लाख ५ हजार रुपैयाँ मात्रै रहेको थियो ।

यसैगरी गरिमा विकास बैंकले २५ प्रतिशतले नाफा रकम बृद्धि गरी ४९ करोड २९ लाख ५३ हजार रुपैयाँ पुर्याएको छ । गत बर्षको गरिमाको नाफा ३९ करोड ३५ लाख ९० हजार रुपैयाँ थियो । त्यस्तै, महालक्ष्मी विकास बैंकले पनि नाफा रकम ३१.५५ प्रतिशतले बृद्धि गरेको छ । गत बर्ष पुस मसान्तसम्मा ३४ करोड ६८ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको महालक्ष्मीले यस बर्ष सोही अवधिमा ४५ करोड ६२ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको हो ।

त्यस्तै, लुम्बिनी विकास बैंकले गत बर्ष दोस्रो त्रैमासको तुलनामा ३४.३१ प्रतिशतले नाफा बढाएर ३५ करोड १७ लाख ४४ हजार रुपैयाँ पुर्याएको छ भने साइन रेसुङ्गा डभेलपमेन्ट बैंकको नाफा पनि ३३.५९ प्रतिशतले बढेर ३४ करोड ८८ लाख ३० हजार रुपैयाँ पुर्याएको छ ।

त्यस्तै, नाफा बढेको अर्को बैंक ज्योति विकास बैंक रहेको छ । गत बर्ष पुस मसान्तको तुलनामा १२.५७ प्रतिशतले नाफा बढाएको ज्योति विकास बैंकले यस बर्ष समिक्षा अवधिमा ३४ करोड ४० लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ । ४.८७ प्रतिशतले नाफा बृद्धि गरेको सिन्धु विकास बैंकले भने समीक्षा अवधिमा ३ करोड ५५ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । 

समीक्षा अवधिमा सर्वाधिक बढी कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा घटेको छ । ७५.७८ प्रतिशतले नाफा घटेको यस बैंकले पुस मसान्तसम्ममा ३० लाख ९९ हजार रुपैयाँ मात्रै नाफा गरेको छ । त्यस्तै, ५२.६६ प्रतिशतले नाफा घटेको एक्सेल डेभलपमेन्ट बैंकले समीक्षा अवधिमा ४ करोड ७० लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ ।

३८.६८ प्रतिशतले नाफा घटेको ग्रीन डेभलपमेन्ट बैंकले समीक्षा अवधिमा १८ लाख ५ हजार रुपैयाँ नाफा गरेको छ भने राष्ट्रिय स्तरको कामना सेवा विकास बैंकको नाफा पनि ११.८९ प्रतिशतले घटेको छ । गत बर्ष पुस मसान्तसम्मा ३९ करोड ४७ हजार रुपैयाँ नाफा गरेको कामना सेवाले यस बर्ष सोही अवधिमा ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ मात्रै नाफा गरेको हो । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.