डोटी । डोटी जिल्लामा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामीलाई रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ ।
रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका-४ पिपल्लाका सर्वजित देउवाले बताए । उनले भने, ‘कोही बिरामी परे सेना र प्रहरी खोज्नुपर्छ, स्थानीयले रगत दिनै मान्दैनन् ।’ अस्पतालमा बिरामीले रगतको व्यवस्था आफै गर्नुपर्ने हुन्छ ।
नेपाली सेनाका विभिन्न युनिट, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा नेपाल प्रहरीले बिरामीलाई सहजै रगत उपलब्ध गराउने गरेका कारण सहज भएको छ । ‘रगत आवश्यक परे सिधैँ प्रहरी र सेनालाई सम्पर्क गछौं’, शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले भने ।
जिल्लामा रेडक्रस सोसाइटीले रगत संकलन केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याए पनि रगत अभाव भइरहेको छ । रगतका लागि उक्त केन्द्र भरपर्दो नभएको स्थानीयवासी बताउँछन् ।
रक्तदानका लागि रेडक्रसले जिल्लामा अभियान नै सञ्चालन गर्ने गरेको छ । सुत्केरीलाई सबैभन्दा बढी समस्या हुने गरेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले बताए । उनले भने, ‘सुत्केरीलाई बढी रगत आवश्यक पर्छ, रगत अभाव हुँदा उपचार गराउन अन्यत्र पठाउनुपर्ने अवस्था छ ।’ सेना र प्रहरीले आफ्ना युनिटमा रगत संकलन गरेर राख्ने गरेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।