add

भौतिक उपस्थितिमै माघ २३ गतेदेखि कक्षा सञ्चालन गर्न प्याब्सनको माग






ActPro Nepal

|

१३ माघ, २०७८

|
716

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी तथा आवासीय विद्यालयहरुका पदाधिकारीसँग सुझाव लिएका छन् । बुधबार र बिहीबार मन्त्रालयमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्शन) सँग शैक्षिक सुधारका विषयमा सुझाव लिएका हुन् ।  

सुझावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपालले कोराना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण बन्द विद्यालय खोल्न दिन माग गरेका छन् । प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो प्रणालीमा भौतिक उपस्थितिमै माघ २३ गतेदेखि कक्षा सञ्चालन गर्न दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

प्याब्सनका अध्यक्ष टिकाराम पुरीले निजी स्कुलले गरेका राम्रा कामहरुको मूल्यांकन सरकारले गर्नुपर्ने बताए । उनले विद्यार्थीलाई खोप दिने सरकारले भनेपनि शिक्षक, कर्मचारीलाई बुस्टर डोज दिनेबारे गम्भीर नभएको बताए । देशका सबै विद्यालय बन्द गर्नुका साटो कोभिड प्रभावित क्षेत्र तोकेर अन्य विद्यालयलाई सञ्चालनको वातावरण गराउन प्याब्सनले माग गरेको छ । 

यस्तै, एनप्याब्शनले सहुलियपूर्ण कर्जामा छुटको व्यवस्था माग गरेको छ । ‘स्कुल चलाउन हामीले बैंकबाट लोन लिएका छौ’, अध्यक्ष ऋतुराज सापकोटाले भने, ‘गत वर्ष कर्जामा ५ प्रतिशत छुट भएको थियो, यस वर्षपनि छुटका लागि पहल गरिदिनुपर्यो ।’ संक्रामक रोग ऐन २०२० ले गृह र जिल्ला प्रशासनलाई मात्रै चिनेको बताउँदै ऐन संशोधन गरी समयानुकुल गराउन माग गरेको छ । 

छलफलमा मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताए । उनले संविधानमा उल्लेख भएको समाजवाद उन्मुख राज्य प्रणालीलाई कार्यान्वयन गर्दै लैजानुपर्ने बताए । मन्त्री पौडेलले सीसीएमसीसीको निर्णयपछि अवस्था हेरेर विद्यालय सञ्चालन बारे थप निर्णय हुने बताए । 

पछिल्लो समय मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका विषयमा विश्वविद्यालय, निजी शैक्षिक संस्था र शिक्षाविद्हरुसँग सुझाव लिइरहेका छन् ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.