काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले विमानस्थल सुरक्षालाई प्रभावकारी बनाउन सम्बद्ध निकायका कर्मचारीलाई निर्देशन दिएका छन्।
विमानस्थलमा कार्यरत विभिन्न सुरक्षा निकायका प्रमुखहरुबिच विमानस्थलको समग्र सुरक्षा व्यवस्थालाई आगामी दिनहरुमा थप मजवुत बनाउने उद्देश्यले गरिएको परिचयात्मक तथा छलफल कार्यक्रममा उनले विमानस्थल जस्तो संवेदनशील स्थानको सुरक्षा सुव्यवस्था कायम राख्न उच्च सतर्कताका साथ चुस्तदुरुस्त रुपमा प्रहरी परिचालन गरी सेवाग्राहीलाई सुरक्षित महसुस हुने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए।
उनले विमानस्थल विभिन्न देशका नागरिकको आवागमन हुने प्रमुख स्थानसमेत भएकाले यसमा विभिन्न आपराधिक क्रियाकलापसमेत हुनसक्ने बताउँदै यसप्रति सधैँ चनाखो रहनसमेत विभिन्न सुरक्षा निकायका प्रमुखहरुलाइ निर्देशन दिए।
सुरक्षा सम्पर्क, समन्वय र सहकार्यको लागि परिचयात्मक तथा छलफल कार्यक्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यरत हवाई सुरक्षा महाशाखा, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी वल,विशिष्टिकृत प्रहरी इकाई,केनाइन, कार्यदल, ट्राफिक, पर्यटक, लागू औषध, अपराध महाशाखाका प्रमुखहरुको उपस्थित थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।