add

कोभिडले व्यवसाय चलाउन समस्या भएको छ : ढकाल






ActPro Nepal

|

२७ पुष, २०७८

|
637

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कोरोनाका कारण उद्योग व्यवसाय सञ्चालन गर्न समस्या भइरहेको बताएका छन्। ओमिक्राेन भेरियन्टको त्रासले नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्थासमेत नरहेको उनको भनाइ छ।

शुक्लागण्डकी उद्योग वाणिज्य संघको तेस्रो साधारण सभालाई सोमबार सम्बोधन गर्दै ढकालले पुँजी अभावले व्यवसाय सञ्चालनमा समेत कठिनाइ भएको बताए। उनले भने, ‘बैंकमा पनि पुँजी अभाव भएको छ । संघ, प्रदेश र स्थानीय सरकारले खर्च गर्नपर्ने बजेट खर्च तदारुकता देखाएर बजेट खर्च भयो भने आर्थिक कृयाकलाप बढ्छ। त्यो खर्च बजारमा पुँजीको रुपमा आएर पुँजी अभावको समस्या समाधान गर्दछ।’ 

उनले कोरोनाको महामारीको बेला स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न सुझाव दिए। ‘व्यवसायिक गतिविधी पनि बढाउन आवश्यक छ। स्वास्थ्य सतर्कता अपनाएर व्यवसाय सञ्चालन गरौँ’ उनले भने ।

उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले कोरोनाको ओमिक्रोन भेरियन्ट फैलन थालेकाले तीनै तहका सरकार मिलेर उद्योगी व्यवसायीलाई बचाउनुपर्ने बताए। व्यवसायीलाई बचाउन सकेमा मात्र मुलुकमा आर्थिक संकट पैदा नहुने उनको भनाइ छ 

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले उद्योग वाणिज्य संघले आर्थिक चलायमान र उत्पादकले उत्पादन गरेको बस्तुको बजारीकरणमा भूमिका खेल्नुपर्ने बताए। गण्डकी प्रदेश सरकारले शुक्लागण्डकी नगरपालिका–९ घारी र पोखरा महानगरपालिका–३३ पुँडीटारमा बनाउने भनेको औद्याेगिक क्षेत्रका लागि दुई उद्योग वाणिज्य संघले समन्वयकारी भूमिका खेल्नुपर्ने उनको भनाइ छ। 

पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले कोरोनाले उद्योगी व्यवसायीलाई पिडा थपेको सुनाए। ‘कोरोनाको मारले बैंकको व्याज तिर्न सकिरहेका छैनौँ । प्रत्येक दिन पत्रपत्रिकामा व्यवसायीको नाम र फोटो आउँछ। हाम्रो व्यवसायको बिना लगानीको मुनाफा लिने पार्टनर सरकारले हामीलाई बचाउनलाई केही भूमिका खेलेको छैन’, उनको गुनासो छ। 

महिला उद्यमी विकास समिति शुक्लागण्डकीकी अध्यक्ष तुलसी श्रेष्ठले कोरोनाका कारण महिला उद्यमीले उत्पादन गरेको सामाग्रीले बजार नपाएको बताइन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.