add

३ सुरुङमार्ग निर्माणको चरणमा, कुनको कति भयो काम ?






ActPro Nepal

|

२५ पुष, २०७८

|
602

काठमाडौं । अफ्ठ्यारो र घुम्ती सडकहरुको दुरी छोट्याइ सहज रुपमा सवारीसाधन आवातजावतका लागि सुरुङ निर्माण गरिन्छ । साथै, यसले इन्धन र समयको बचत गराउँछ । विकसित देशहरुमा सयौं वर्षअघि देखि सुरुङमार्ग प्रयोगमा रहे पनि नेपालमा भने बल्ल निर्माण हुन थालेका छन् ।

पछिल्लो समय नेपाल पनि क्रमशः सुरुङ युगमा प्रवेश गरेको छ । देशका झन्डै १ दर्जन बढी स्थानमा सुरुङमार्ग निर्माणको लागि अध्ययन भइरहेको छ । कुनैको डीपीआर निर्माण भइरहेको छ भने कुनैको भौगोलिक अध्ययन भइरहेका छन् ।

त्यस्तै, ३ वटा सुरुङमार्ग भने निर्माणको चरणमा रहेका छन् । काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगा, पाल्पाको सिद्धबाबा र काठमाडौं तराई मधेश दु्रतमार्गमा सुरुङ निर्माण अघि बढेको हो ।

कुन सुरुङमार्गको कति भयो काम ?

 नैबिसे-नागढुंगा सुरुङमार्गको २७ प्रतिशत काम सम्पन्न

मुलुककै पहिलो नैबिसे नागढुंगा सुरुङमार्ग निर्माणधीन अवस्थामा रहेको छ । हाल यस सुरुङमार्ग निर्माणको काम तीव्र गतिमा भइरहेको छ । हालसम्म एकचौथाई काम सम्पन्न भइसकेको छ ।

नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यका अनुसार हालसम्म २७ प्रतिशत भौतिक प्रगति भएको छ । शुक्रबारसम्म कुल २ हजार १८१ मिटर सुरुङ खनिसकिएको छ । आयोजना निर्देशक शाक्यका अनुसार हालसम्म ७३६ मिटर मुख्य खनिसकिएको छ । काठमाडौंतर्फ ३७२ मिटर र धादिङतर्फ ३६४ मिटर मुख्य टनेल खनिएको छ ।

त्यसैगरी, स्केप टनेल अन्तर्गत हालसम्म १ हजार २७६ मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ७४६ र धादिङतर्फ ५३० मिटर सुरुङ खन्ने काम पूरा भएको छ । त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ भने हालसम्म ४२ मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ २७ मिटर र धादिङतर्फ १५ मिटर निर्माण गरिएको छ ।

यो सुरुङमार्ग करिब २ हजार ६८८ मिटर हुनेछ । काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

चालु वर्षका लागि आयोजनालाई ९ अर्ब ६७ करोड रुपैयाँ शोधभर्ना लिनेगरी बजेट विनियोजन गरिएको छ । जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा यो आयोजना निर्माण भइरहेको छ । कुल लागतमध्ये १६ अर्ब रुपैयाँ जापान सरकार र ६ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गर्ने सहमति छ ।

सिद्धबाबा सुरुङमार्गको ठेक्का अन्तिम चरणमा

पाल्पाको द्धिबाबाबामा निर्माण हुने सुरुङमार्ग ठेक्काको अन्तिम चरणमा पुगेको छ । सुरुङ निर्माणका लागि प्राविधिक प्रस्तावमा ४ वटा चिनीयाँ कम्पनी छनोट भएका छन् ।

सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान विकास केन्द्रले जेठ ९ गते बोलपत्र आह्वान गरेको थियो । जसमा ९ कम्पनीले आवेदन दिएका थिए । सोमध्ये ४ वटा चिनीयाँ कम्पनीहरु क्रमशः चाइना फर्स्ट हाइवे इन्जिनीयरिङ कर्पोरेशन लिमिटेड, कोभेक/सीआरइजीसी जेभी, चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र सीसीइसीसी/सीआरसीसी १४– सियुयान जेभी प्राविधिक प्रस्तावमा छनोट भएका हुन् ।

सम्भवत यसैसाता भित्र प्राविधिक प्रस्ताव पारित भएका ४ कम्पनीहरुको आर्थिक प्रस्ताव खोलिने छ । केन्द्रका सिनियर डिभिजनल इन्जिनीयर सौरभ बज्राचार्यले आगामी १० हप्तामा ठेकेदार सुरुङ निर्माणका लागि मोबिलाइजेसन गरिने बताए ।उनका अनुसार अब आर्थिक छनोटमा सबैभन्दा कम प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिइने छ । उक्त कम्पनीलाई सुरुङमार्ग निर्माणको जिम्मा सहित मोबिलाइजेसन गरिने छ ।

आगामी एक सातामा प्राविधिक प्रस्ताव पास भएका कम्पनीको आर्थिक प्रस्ताव खोलिने छ । सुरुङमार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ लगानी अनुमान गरिएको छ । छनोट हुने कम्पनीले ५ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्नु पर्ने छ । निर्माण पछिको थप ५ वर्ष निर्माण कम्पनीले निर्माण क्षेत्रमा केही भए मर्मत सम्भार गर्नुपर्नेछ ।

पाल्पा–बुटवल सडक खण्डअन्तर्गत पर्ने जोखिम क्षेत्र सिद्धबाबामा इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङमार्ग निर्माण गर्न लागिएको हो । ईपीसी मोडलमा निर्माण गर्दा आयोजनाले दिएको बेसलाइ सर्भेका आधारमा विस्तृत डिजाइन, खरिद, निर्माण र तोकिएको समयसम्म सञ्चालन र मर्मतसम्भार समेत गर्नुपर्छ ।

सुरुङमार्गका लागि स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडीसी) को आर्थिक र प्राविधिक सहयोगमा एक वर्ष लगाएर सुरुङमार्गको बेसलाइन सर्भे गरिएको छ ।

उक्त सुरुङमार्ग एसियन हाइवे स्ट्याण्डर्डमा १.१२६ किलोमिटर निर्माण हुनेछ । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा सिद्धबाबाको मन्दिरको उत्तरतर्फ चिडियाखोला नजिकै सुरुङमार्गको एउटा पोर्टल रहनेछ । चिडियाखोलाको खोँच हुँदै दोभान नजिकै निस्कने छ । सुरुङमार्गभित्र इमर्जेन्सी क्रस प्यासेज, टनेल भेन्टिलेसन,लाइटिङ, मनिटरिङ सिस्टम लगायत हुने बताइएको छ।

सुरुङमार्गसँगै रक सेट निर्माणको पनि योजना रहेको छ । ’रक सेट’ पैदल यात्रु आवागमनका लागि हुनेछ । उक्त रक सेटमा आकस्मिक अवस्थामा त्यसबाट एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन चलाउन सकिनेछ । सुरुङमार्गसँगै बाहिर करिब ७८० मिटरको रक सेट बनाउन लागिएको हो ।

फास्ट ट्रयाक अन्तर्गत सुरुङको डिजाइन पूरा

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)मा निर्माण हुने सुरुङमार्गको डिजाइन तयार भएको छ । फास्ट ट्रयाकमा बन्ने तीन वटा सुरुङ मार्गमध्ये एउटा सुरुङको डिजाइन सम्पन्न भएको हो ।

आयोजनाका अनुसार उक्त डिजाइन अहिले स्वीकृतिको चरणमा रहेको छ । नेपाली सेनाका अनुसार प्याकेज नं १ अन्तर्गत महादेवडाँडामा बन्ने ३.३५५ किलोमिटर लामो सुरुङको डिजाइन तयार भएको हो । सुरुङको डिजाइन चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरीङले तयार पारेको हो । उक्त सुरुङ निर्माण चाइना स्टेटले २१ अर्ब ६१ करोड रुपैयाँमा ठेक्का पाएको छ ।

त्यस्तै, प्याकेज नं. २ अन्तर्गत धेद्रेदेखि लेनडाँडासम्म निर्माण हुने २ वटा सुरुङको डिजाइन पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । यस खण्डमा धेद्रेमा १.६३० किमी र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । सो निर्माणका लागि पोली च्याङ्दा इञ्जिनियरिङले २८ अर्ब ५३ करोड रुपैयाँमा ठेक्का पाएको छ ।

फास्ट ट्रयाकमा कुल ६.४१ किलोमिटर लम्बाइका तीन वटा सुरुङमार्ग निर्माण हुनेछ । धेद्रे महादेवटार तर्फ एउटा लामो टनेल बन्ने छ । लेनडाँडा तर्फ २ वटा टनेल बन्ने छन् । ठेकेदारले टनेलका साथै ब्रिज समेत निर्माण गर्नु पर्ने छ ।

यी ठाउँमा अध्ययन हुँदै

यस्तै सरकारले चालु आर्थिक वर्षको बजेटमा काठमाडाको कोटेश्वरको सवारी चापलाई व्यवस्थित गर्न तीनकुने-जडिबुटी खण्डमा सुरुङमार्ग निर्माण गर्न १ अर्ब ८० करोड विनियोजन गरेको छ । यसका लागि जाइकाले अध्ययन गरिरहेको सडक विभागले जनाएको छ ।

चालु आर्थिक वर्ष टोखा–छहरे–गुर्जुभज्याङ, वेत्रावती–स्याफ्रुबेंसी, खुर्कोट–चियाबारी र थानकोट–चित्लाङ सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य प्रारम्भ गरिने बताइको छ । यस योजनाका लागि हालसम्म कुनै प्रकृया अघि बढाइएको छैन ।

यस्तै चालु आवमै पृथ्वी राजमार्गको मझिमटार–शक्तिखोर, पोखरा बाग्लुङ राजमार्गको हेम्जा–नयाँपुल, चेपाङ्ग राजमार्गको दुम्लिङ्ग–वाङ्गसिङ्ग, पूर्व–पश्चिम राजमार्गको दुम्कीवास–वर्दघाट, कोहलपुर–सुर्खेत राजमार्गको बबई–छिन्चु, सुर्खेत–दैलेख सडकको कपासे–सियाकोट, पाल्पा–तम्घास सडकको प्रभास–जोर्ते र विपिनगर–खुटिया–दिपायल खण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने बताइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.