add

तीन लाख विद्यार्थीलाई समेट्ने स्काउटकाे लक्ष्य






ActPro Nepal

|

४ मंसिर, २०७८

|
1809

काठमाडौं ।  नेपाल स्काउटले मुलुकभर तीन लाख विद्यार्थीलाई समेट्ने लक्ष्यका साथ अभियान थालेको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै आफ्नो संरचना पनि सोहीअनुसार अघि बढाएको नेपाल स्काउटले मुलुकका सबै (७५३ वटै) स्थानीय तहमा संरचना निर्माण गरिसकेको जनाएको छ । स्काउट गतिविधिलाई थप चलायमान बनाउन संरचना विस्तार गर्ने क्रममा आज स्थानीय स्काउट कार्यालय काठमाडौँले यहाँ ‘प्रधानाध्यापक गोष्ठी’ गरेको छ ।

हरेक स्कुलमा स्काउटको संरचना निर्माण गर्ने लक्ष्यसहित उक्त कार्यक्रम आयोजना गरिएको र यो अभियान मुलुकभर नै जारी रहेको वाग्मती प्रदेश सदस्य शिवराम अर्यालले जानकारी दिए । हाल नेपालमा ६५ हजार विद्यार्थी स्काउटमा आबद्ध छन् । उनका अनुसार काठमाडौँ महानगरपालिकाका ५९ सरकारी उच्च माध्यमिक विद्यालयमध्ये १३ वटामा स्काउट रहेकामा अब सबै विद्यालयलाई समेट्ने गरी उक्त भेला गरिएको हो । 

सन् १९०७ मा २० जनालाई लिएर बेलायतबाट लर्ड वेडेन पावेलले स्काउट स्थापना गरेका थिए । नेपालमा सन् १९५२ (विसं २००९) मा स्काउट सुरु भएको हो । स्काउटको इकाई गठन गर्न तथा गतिविधि सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले आवश्यक सहयोग गर्दै आएको र यो क्रम जारी रहने महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए । 

कार्यक्रममा नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराइले स्काउटको उद्देश्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास तथा गतिविधिका बारेमा प्रस्तुति दिँदै वर्तमान समयमा स्काउटको भूमिका अझ बढेर गएको बताए ।

आयोजक संस्थाका संयोजक विमला श्रेष्ठले काठमाडौँ महानगरपालिकामा पनि स्काउटलाई व्यवस्थितरुपमा अघि बढाउनका लागि र हरेक शैक्षिक संस्थामा स्काउट इकाई पुर्‍याउनका लागि प्रधानाध्यापकसँग छलफल गरिएको जानकारी दिए । 

स्काउटले बालबालिका तथा युवालाई कर्तव्यपरायण, सत्चरित्र र सुयोग्य नागरिक बनाउनुका साथै शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । यसै गरी स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायप्रति उत्तरदायी सदस्य बन्न योग्य बनाउँछ । 

विगतमा सामाजिक सेवा तथा विपद्का बेलामा समेत स्काउट टोलीले मुलुकमा महत्त्वपूर्ण काम गर्दै आएको थियो । कोभिड–१९ सङ्क्रमणको समयमा स्काउट टोलीले जोखिमका साथ शव व्यवस्थापनसमेत गरेको थियो । यस्तै विपद्जन्य घटना, महामारी, भूकम्प र बाढी पहिरा आउँदासमेत स्काउट टोली उद्धारमा खटिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.