काठमाडौं । काठमाडौं महानगरपालिका र इसेवाबीच अनलाइनबाट नै कर तिर्न सक्ने गरी सम्झौता भएको छ। इसेवासँग सम्झौता गरेसँगै अब महानगरबासीले घर बसी–बसी नगरपालिकालाई सम्पूर्ण कर तिर्न सक्ने भएका छन्। अब महानगरपालिकालाई बुझाउनु पर्ने करहरु इसेवाका माध्यमले तिर्न मिल्ने भएको छ।
काठमाडौं महानगर र इसेवाबीच आइतबार सम्झौता भएसँगै अबदेखि महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहालकर इसेवाबाट सजिलै भुक्तानी गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।
इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन्। इसेवा एकाउन्ट नभएकाले पनि नजिकै रहेका इसेवा जोन तथा प्वाइन्टमार्फत कर भुक्तानी गर्न सक्नेछन्।
स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यसक्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने महानगर र इसेवा दुवैको अपेक्षा रहेको छ।
इसेवाबाट भुक्तानी सहजताका लागि महानगरबासीले सुरूमा वडा कार्यालयमा आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लग–इन आइडी लिनु पर्नेछ।
त्यसपछि इसेवाको मोबाइल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ। यसबाहेक काठमाडौं महानगरपालिकाको वेबसाइटबाट पनि युजर नेम र पासवर्ड राखेर इसेवाबाट कर तथा राजस्व दाखिला गर्न सकिनेछ।
कीर्तिपुर, गोकर्णेश्वर, बनेपा, बाँसगढी, बर्दघाट, बेलौरी, धनगढीमाई, धुलिखेल, गोदावरी, कावासोती, मध्यविन्दु, नमोबुद्ध, पुनर्वास, तिलोत्तमा र सुन्दरहरैंचा गरी १४ नगरपालिका, इटहरी, बुटवल, हेटौंडा र धरान उपमहानगरपालिका र विराटनगर महानगरपालिका लगायतले पनि इसेवाबाट कर तथा राजस्व भुक्तानी गर्न सकिने सुविधा संचालनमा ल्याइसकेका छन्।
यस्तै, विष्णुपुर, छथर जोरपाटी, केराबारी, थुलुङ दूधकोशी लगायतका गाउँपालिकामा पनि इसेवामार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने भइसकेको छ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्षरूपमा खाता खोल्नेको संख्या करिब ५० लाख रहेको दाबी कम्पनीले गरेको छ। यसैगरी अप्रत्यक्षरूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेको भनाइ कम्पनीको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।