add

महन्थ ठाकुर र राजेन्द्र महतोहरू मधेसी जनता लुट्ने दलाल : प्रचण्ड






ActPro Nepal

|

१३ कार्तिक, २०७८

|
611

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेतामाथि आक्रोश पोखेका छन् ।

सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई मधेसी जनता लुट्ने दलाल भएको आरोप लगाए । ठाकुर र महतोको गृहजिल्लामा पुगेर प्रचण्डले दुबैलाई मधेस विरोधिको संज्ञा दिएका हुन् । 

मधेस विरोधी केपी ओलीलाई साथ दिनेहरू मधेसी हुनै नसक्ने र मधेसी अनुहार देखाएर महन्थ र राजेन्द्रहरूले मधेसी जनता लुट्ने र ठग्ने काम गरेको उनको आरोप थियो ।

‘म त्यस्तो प्रधानमन्त्री हो, जसले दुई पटक संविधान संशोधन प्रस्ताव राखेर मधेसी जनताको हकहितका लागि लडेको हो । तर केपी ओलीले पास हुन दिएन । तर आज बिडम्वना गणतन्त्र, संघीयता विरोधी समानुपातिक समावेशी विरोधी केपी ओलीलाई आफूलाई मधेसको मसिहा ठान्ने महन्थ ठाकुर र राजेन्द्र महतोहरूले साथ दिएर त्यसको सरकारमा सहभागी भएका हुन् कि होइनन् ? अनि तपाई हामीले यो कुरा बिर्सिन मिल्छ ?’ प्रचण्डले प्रश्न गरे ।

प्रचण्डले को मधेसको मित्र हो, को दुश्मन हो जनतालाई बुझाइदिन शिक्षक तथा बौद्धिक वर्गलाई अनुरोध पनि गरे । ‘केपी ओली जो मधेस, गणतन्त्र, समावेशी विरोधी हो । उसलाई साथ दिने र माओवादीलाई एक्ल्याउनुपर्छ भन्ने महन्थ ठाकुहरुहरु मधेसका हुन् ? मधेसी हुन् ?’ उनले आक्रोश पोखे, ‘रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउँ भनेर माओवादीले प्रस्ताव राख्दा विरोध गर्नेहरू मधेसका मित्र हुन् ?’

अध्यक्ष प्रचण्डले थपे, ‘अनि मधेसी जनतालाई स्पष्ट पार्नका लागि जस्तोसुकै खतरा मोलेर भए पनि मधेसमै चुनाव लड्छु, मधेसी जनताको माया र विश्वास पाएँ भने म फेरि प्रधानमन्त्री हुन्छु र मधेसको निम्ति संविधान संशोधन गर्छु भन्ने तपाईको मित्र हो कि मधेसी अनुहार देखाएर मधेसी जनतालाई लुट्ने र ठग्ने डाँका र दलालहरु तपाईका मित्र हुन् ? यो फैसला तपाईंहरूले यो पटकको चुनावमा गर्नुपर्नेछ । असली मित्र र बैरीहरू को हो छान्नुपर्नेछ ।’

परिवर्तन विरोधी, सामन्ती, दलाल, निरंकुश, अहंकारी ओलीले धोका, विश्वासघात, बेइमानी र षडयन्त्र गरेर आफूलाई बादशाहजस्तो ठानेपछि घोडाबाट पछारेर बालुवाटारबाट बालकोट पठाइदिएको उनको भनाइ थियो । ‘माओवादी आगो हो खेल्ने कोसिस नगर भनेको थिएँ,’ उनले भने, ‘अहिले बालकोट मात्र होइन बागमती गयो । लुम्बिनी, गण्डकी गयो । अब प्रदेश १ पनि जाँदैछ । माओवादीलाई जिस्क्याउन खोज्दा के हुँदो रहेछ हेर्नुस् त ।’  

अध्यक्ष प्रचण्डले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई ओलीले पदमुक्त गरेकोमा पनि आक्रोश पोखे । 'मधेसको दलितलाई प्रदेश प्रमुख बनाएको थिए ओलीले देखिसहेन । हटायो । मैले फेरि बनाएँ,’ उनले भने, ‘को व्यवहारमा मधेसी जनताको हक अधिकारका लागि लड्छ, को गफ दिन्छ तपाईले फैसला गर्नुपर्छ ।’   


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.