add

नेपाल विश्वविद्यालयको रणनीतिक योजना कार्यशाला सुरु






ActPro Nepal

|

१२ कार्तिक, २०७८

|
980

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा खुला विश्वविद्यालय स्थापनाका लागि तीनदिने रणनीतिक योजना कार्यशाला सुरु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भर्चुअल माध्यमबाट कार्यशालाको उद्घाटन गरे।

मुख्यमन्त्री पोखरेलले विश्वविद्यालयका लागि जग्गा प्राप्ति तथा आवश्यक नीति, निर्देशिकामा प्रदेश सरकारका तर्फबाट साथ, सहयोग र समर्थन रहने बताए। उनले देशका मात्रै नभएर विदेशका विद्यार्थीलाई समेत आकर्षण गर्ने गरी स्थापना हुनलागेको विश्वविद्यालय स्थापनाका लागि शुभकामना दिए। कार्यशालामा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा केदारभक्त माथेमाले नेपालको पठनशैली पुरानो भएकाले अब नयाँ प्राविधिक विषयवस्तुसहितको शिक्षा आवश्यक रहेकामा जोड दिए।

गैँडाकोटमा विश्वविद्यालय बन्ने कुराले उत्साही बनाएको जनाउँदै माथेमाले एसियाकै नमूना बन्ने गरी विश्वविद्यालय सञ्चालन गर्नुपर्ने बताए। उनले अब आउने विद्यार्थीलाई विश्वविद्यालयले थेग्ला वा उनीहरुको आवश्यकता पूर्ति गर्ला भन्ने प्रश्न रहेको बताए। नेपाल विश्वविद्यालय विकास समितिका अध्यक्ष डा अर्जुन कार्कीले सम्भाव्यता अध्ययन गर्न बनेको कार्यदलले गैँडाकोटमा विश्वविद्यालय सम्भव रहेको र गैँडाकोटले जग्गा उपलब्ध गराउने प्रतिबद्धता गरिसकेपछि त्यसलाई साकार पार्न जोडिन आएका सुनाए।

सरकारले नेपाल विश्वविद्यालय विकास समिति गठन गरी आवश्यक जनशक्ति नियुक्त गरी गठनादेशमा सूची तयार गरी जिम्मेवारी दिएकोसमेत उनले जानकारी दिए। यो अवस्थासम्म आइपुग्न धेरै चुनौती पार गरिसकेको जनाउँदै कार्कीले लक्ष्य प्राप्ति नहुने बेलासम्म सबै एकजुट हुनुपर्ने बताए। नागरिक समाजका अगुवा एवं पूर्वमन्त्री डा देवेन्द्रराज पाण्डेले विश्वविद्यालयका विषयमा चार वर्षअघि कुरा उठेको उल्लेख गर्दै यसमा आफू पनि सहभागी हुने जानकारी गराए।

कार्यक्रमका गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले चार वर्षअघि परिकल्पना गरिएको विश्वविद्यालय बनाउन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको जानकारी दिँदै उनहरुका साथै गण्डकी प्रदेशका मुख्यमन्त्रीको सहयोग गर्ने आश्वाशनले खुसी तुल्याएको बताए। उनले गैँडाकोटमा विश्वविद्यालय स्थापना भएको अवस्थामा जिल्लालाई नै शैक्षिक हबका रूपमा स्थापित गर्न सकिन्छ भनी नगरसभाबाट पारित गरिएको जानकारी दिए।

नगरपालिकाको विश्वविद्यालय बनाउने अभियानले निरन्तररूपमा गति लिँदै आइरहेको छ। अनौपचारिक सरसल्लाहबाट उठान गरिएको यस अभियानले २०७४ असोज २५ गते नगरपालिकाले पाँच सदस्यीय अध्ययन कार्यदल गठन गरेपछि आधिकारिक काम थालेको थियो। डा प्रमोद ढकालको संयोजकत्वमा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी, समाजसेवी गोविन्दराज कोइराला, शिक्षक देवराज शर्मा र युवा अभियानकर्मी करुणासागर सुवेदी सदस्य रहेको उक्त कार्यदलले तीन महिनाको अध्ययनपश्चात विसं २०७४ पुस २१ गते आफ्नो अध्ययन प्रतिवेदन नगरपालिकासमक्ष प्रस्तुत गरेको थियो।

गैँडाकोटमा विश्वविद्यालय स्थापना गर्न उपयुक्त र सम्भव दुवै ठहर गरेको उक्त प्रतिवेदनको सुझावअनुसार नगरपालिकाले अभियानलाई अङ्गीकार गर्नाका साथै असोजमा गठित समितिलाई निरन्तरता दिने निर्णय लिएको थियो। विसं २०७४ फागुनमा गैँडाकोटमा नवनिर्वाचित सङ्घीय र प्रदेश सांसद, वुद्धिजीवी तथा विभिन्न जनप्रतिनिधिको उपस्थितिमा अन्तक्र्रिया गरिएको थियो भने आगन्तुकलाई गैँडाकोटको भौगोलिक अवस्थितिको अवलोकन भ्रमण गराइएको थियो। लगत्तै डा देवेन्द्रराज पाण्डे, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, डा केदारभक्त माथेमा, डा अर्जुन कार्की, डा भगवान् कोइराला, डा सन्दुक रुइत, डा महावीर पुन, डा चैतन्य मिश्र, डा चिन्तामणि योगी, पूर्वअर्थसचिव रामेश्वर खनाल, वरिष्ठ आर्किटेक्ट विरेश साह, डा राम आचार्यलगायतका थुप्रै राष्ट्रिय बौद्धिक व्यक्तिको सहभागितामा छलफलसमेत गरेको थियो।

विसं २०७४ चैत २८ गते नगरपालिकाको दोस्रो नगरसभाले नेपाल विश्वविद्यालय स्थापनाको प्रस्तावलाई अनुमोदन गर्नाका साथै समग्र गैँडाकोटको विकासको एकीकृत योजना बनाएर आफ्नो नगरपालिकालाई शैक्षिक नगरका रूपमा विकसित गर्ने र त्यहाँ बौद्धिक अर्थतन्त्रको विकास गर्ने नीति लिएको छ। नेपाल विश्वविद्यालय स्थापना नगर समितिले तयार पारेको अवधारणा पत्र २०७५ वैशाख २३ गते नगरपालिकालाई हस्तान्तरण गरी त्यसको अनुमोदन भइसकेको छ। अबको चार÷पाँच महिनामा विश्वविद्यालयको शिलान्यास गर्ने गरी तयारी एवं छलफल अघि बढेको छ।रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.