add

अदालत भनेको गाँजरको मुरली होइन, आपसी समझदारीमा समस्या सुल्झाउनुपर्छ - पूर्वन्यायाधीश भण्डारी






ActPro Nepal

|

११ कार्तिक, २०७८

|
908

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने बताएका छन् । आफूले तत्काल समस्या समाधान भएर जनताले न्याय पाउन सकुन् भन्ने शुभेच्छा राखेको उनको भनाइ छ ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा बुधबार भण्डारीले भोलिसम्म समाधान निस्किन सक्ने पनि आशा व्यक्त गरे । उनले भने, ‘न्यायाधीशहरुले बेञ्च बहिस्कार गरेको होइन । उहाँहरु छलफलमा हुनुहुन्छ । बेञ्च बहिस्कार गर्ने वा नगर्ने, के गर्दा उपयुक्त हुन्छ भन्ने कुरा उहाँहरुले सोच्ने हो । भोलिसम्म सोलुसन निस्कियोस ।' देशमा जब राजनीतिक रुपमा अस्थिरता आउँछ त्यसको असर सम्पूर्ण अंगमा पर्ने उनको भनाइ छ । दलहरुले राज्य सञ्चालनमा सुशासन कायम गरिदिएको भए यस्तो समस्या नआउने उनले सुनाए ।

उनले प्रधानन्यायाधीश मुक्त हुने कुरा संविधानको धारा १३१ ले मात्रै गरेको पनि स्मरण गराए । प्रधान्यायाधीश हट्ने योबाहेक अरु प्रावधान नभएको उनको भनाइ छ 'यसलाई हामीले कतैपनि तलमाथि गर्नुहुँदैन । त्यसो गरिए यसको मार जनतामा पर्छ । अदालत भनेको गाँजरको मुरली होइन । सबैले संरक्षण गर्नुपर्छ । यो सबैको आस्थाको केन्द्र हो । अन्याय भएको बेला जनता जाने निकाय भनेको नै अदालत हो । हाम्रा केही संवैधानिक प्रावधानहरु छन्, तीनलाई पालना गर्नुपर्छ । न्याय दिनेहरु पनि कानूनबमोजिम चल्नुपर्छ,’ उनले भने ।

कुनै पनि देशको प्रजातन्त्र कति राम्रोसँग सञ्चालित छ भन्ने कुरा त्यो देशको अदालतको स्वतन्त्रता र निष्पक्षतामा मापन हुने उनको भनाइ छ । उनले अदालत संस्था भएकोले संस्थालाई बचाउनुपर्ने बताए ।

भण्डारीले प्रधानन्यायाधीश जबरामाथि लगाएको चार्ज ठिक हो भने त्यो जबराले सोच्ने कुरा भएको र माग गरेको कुरा बेठिक हो भने अरुहरुले सोच्ने कुरा भएको बताए । उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्छ वा हुँदैन भनेर मैले भन्न मिल्दैन । महाभियोगको प्रश्न त संसदको कुरा हो । सांसदहरुले प्रस्ताव ल्याउनुभयो भने हुने कुरा हो । प्रस्ताव गएन भने महाभियोग भनेर मात्रै केही हुँदैन् । जे गर्दा पनि विधि र प्रक्रियाअनुसार जानुपर्छ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.