add

टिकट नपाउँदा सिमकोट विमानस्थलबाटै फिर्ता भए बिरामी






ActPro Nepal

|

९ कार्तिक, २०७८

|
469

हुम्ला । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्‍याइएका एक जना बिरामीले उपचारका लागि जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमवार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ ।

जिल्लाको खार्पुनाथ गाउँपालिका–१ प्युस घर भएका दीर्घरोगी ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो । उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत लैजानका लागि सोमवार तारा एयरमा टिकट काटेको भए पनि उडान नभएर बिरामी शाहीले सिमकोटमै रोकिनुपरेको हो । 

जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरिएका बिरामीका आफन्तले टिकट नपाएपछि एयरपोर्टबाटै बिरामी फर्काएका छन् । 

बिरामी वीरजितले मात्र टिकट पाएको भए पनि बिरामीसँगै जाने कुरुवाले टिकट नपाएपछि उनीहरू हुम्ला विमानस्थलबाट फर्किन बाध्य भएका हुन् । ‘बिरामी बुवालाई कसको साथ लगाएर अस्पताल पठाउने, त्यसैले हामी फर्कियौँ दीर्घले गुनासो गरे ।

यस्तै विद्यार्थी, बिरामी, काम विशेषले जिल्ला बाहिर जाने यात्रुले हप्तौँ दिनदेखि निजी हवाई सेवा कम्पनीका कार्यालय धाउँदा पनि टिकट नपाएको गुनासो गरेका छन् । नेपालगञ्ज, सुर्खेतबाट उडान गर्दै आएका निजी एयर सीता, तारा र समिटले नियमित उडान नभर्दा जिल्ला बाहिरिने हुम्लीले सास्ती खेप्नुपरेको छ । अन्य समय बिहानदेखि बेलुकासम्म दैनिक १० भन्दा उडान गर्ने निजी एयरले यो समय एकमात्रै उडान गर्दा बिरामीदेखि अन्य सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

सीता, समिट, ताराले दैनिक एक उडान भरे पनि विद्यार्थी, बिरामीलाई प्राथमिकता नदिएर फोनका आधारमा टिकट विरतण गरेको जनगुनासो आउने गरेको छ । आफन्त र चिनजानका आधारमा दशैं, तिहारको समय टिकट वितरण हुँदा अन्य सर्वधारण मर्कामा परेका छन् । 

वायुसेवाको जहाजले उडान गर्न छाड्यो

हुम्लामा नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान नगर्दा जिल्ला बाहिरिने जिल्लावासीले थप समस्या भोग्नुपरेको छ । वैशाखदेखि नेपाल वायुसेवाको जहाजले उडान नभरेपछि हुम्लाबाट नेपालगञ्ज, सुर्खेतलगायत बाहिरिने यात्रुलाई सास्ती भएको छ ।

दशैं मनाएर काठमाडौं, नेपालगञ्ज, सुर्खेत, पोखरालगायत सहरमा अध्ययन गर्न जाने विद्यार्थी हुम्लामै अलपत्र परेका छन् । पहुँचवालाले सहजै टिकट पाउने र सर्वसाधारण नागरिकले हप्ता दिनसम्म एयरपोर्ट धाउँदा पनि टिकट नपाएको सिमकोट गाउँपालिका–२ का दीपेन्द्र बोहराले गुनासो गरे ।

निजी एयरलाइन्स तारा र समिटले उडान गरे पनि भित्रभित्रै टिकट वितरण हुने गरेको छ । सीता एयरले चार/पाँच दिनयता उडान नगरेको यात्रुको दुःखेसो छ । रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.