add

फूलमा आत्मनिर्भर नारामै, तिहारलाई ५० हजारभन्दा बढी माला भारतबाट ल्याउनुपर्ने






ActPro Nepal

|

७ कार्तिक, २०७८

|
774

काठमाडौं । स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ ।

फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला आयात गर्ने तयारी रहेको बताइएको छ ।

फूल मालाको अभाव हुन नदिन भारतबाट आयात गर्न पुष्प व्यवसायी लागिपरेका छन् । नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग बढ्दै गएको तथ्याङ्क छ ।

उत्पादन क्षमता गुणात्मक वृद्धि भए अन्य देशको भर पर्नु नपर्ने व्यवसायी बताउँछन् । गत वर्षको तिहारमा भारतबाट दुई लाख सयपत्री माला ल्याइएको थियो ।

फूल उत्पादनमा कमी आए पनि यस वर्ष माग भने बढेको छ । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण यस क्षेत्रका व्यवसायीले विगतका वर्षमा जस्तै लगानी नगरेकाले फूल उत्पादनमा कमी आएको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले फूल लगाउने समय फागुनदेखि साउनसम्म रहेको र उक्त समयमा कोरोना भाइरस सङ्क्रमण जोखिम कारण व्यवसायीले लगानी गर्न नसकेको बताए ।

जसको असर फूल उत्पादनमा देखिएको उनले बताए । ‘यस वर्ष बजार माग बढेको छ’, उनले भने, ‘माग बढी र उत्पादन कम भएपछि यस वर्ष तिहारको समयमा भारतबाट सयपत्री फूलको माला विगत वर्षको तुलनामा धेरै ल्याउन लागिएको हो ।’

यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवम् गोदावरी फूलको माला रहेका छन् ।

माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष मूल्यमा वृद्धि हुने बताइएको छ ।

एक मिटर सयपत्री फूलको मालाको मूल्य रु ६० देखि ७० सम्म पर्नेछ । यस वर्ष विगत दुई वर्षको तुलनामा १५ प्रतिशत फूलको माग बढी छ । भारतबाट ल्याइने फूल तिहार सुरु हुन तीन दिन बाँकी रहँदा नेपाल आइपुग्नेछ ।

लामो समयदेखि कोरोना भाइरस सङ्क्रमणका कारण दैनिक रु एक करोडको नोक्सान व्यहोरिरहेको पुष्प व्यवसायले अहिले दैनिक करिब रु ७० लाखको कारोबार गर्न थालेको छ । कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महिना फूलको बढी कारोबार हुने मौसम हो ।

अहिले राम्रोसँग कारोबार हुने समय पनि भएको र कोरोना सङ्क्रमण पनि बिस्तारै न्यून हुँदै गइरहेकाले यस व्यवसायले गति समाएको हो ।

कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत डेढ वर्षदेखि नै राम्रो आम्दानी गर्न नसके पनि पछिल्लो समय बिस्तारै तङ्ग्रिन थालेको छ । त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय बिस्तारै खुला हुन थालेसँगै यस व्यवसायले पनि लय समातेको हो ।

पछिल्ला वर्षमा सयपत्री फूलमा देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ ।

अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थाले पनि यस वर्ष भने उत्पादनमा कमी हुने अनुमान छ । केही वर्षयता वार्षिक रु तीन अर्ब मूल्य बराबरका फूलको कारोबार हुने गरेको थियो ।

तिहार र अन्य मौसममा रु ११ करोड मूल्य बराबरको फूल विदेशबाट आयात हुँदै आएको छ । असोजदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् । रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.