काठमाडौँ । अन्तर्राष्ट्रिय खोज पत्रकारहरुको संयन्त्र, इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आइसिआइजे) सहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ सार्वजनिक भएको छ ।
प्यान्डोरा पेपर्समा विश्वका राजनीतिज्ञ तथा चर्चित व्यापारीहरुले कर छल्नका लागि ठूलो सम्पत्ती ‘ट्याक्स हेभन’ मुलुकमा गोप्य तवरले नाममात्रका कम्पनी स्थापना गरेर लगानी तथा शेयर खरिद–बिक्री गरेको खुलासा गरिएको हो ।
आइसिआइजेले प्यान्डोरा पेपर्स नाम दिएको यस खुलासामा धन लुकाउनेमा जोर्डनका राजादेखि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रेज बाबिससम्म रहेका छन् ।
साथै विश्वका ३५ नेता तथा ३ सयभन्दा बढी सार्वजनिक पदमा रहेकाहरु पनि छन् ।
यसअघि फिनसेन फाइल्स, द प्याराडाइज पेपर्स, द पानामा पेपर्स र लक्सलिक्सका नाममा पनि यसतै अवैध लगानीका विवरण सार्बजनिक गरिएको थियो ।
आइसिआइजेले यस अध्ययनमा विश्वभरबाट ६५० भन्दा बढी पत्रकार सहभागी भएको जनाएको छ ।
प्यान्डोरा पेपर्सका लागि १४ स्रोतबाट एक करोड १९ लाख ३ हजार ६७६ कागजात र २.९४ टिबी डाटाको अध्ययन गरिएको आइसीआइजेले उल्लेख गरेको छ ।
प्यान्डोरा पेपर्सको अध्ययनमा नेपालका व्यापारीहरुको समेत अवैध लगानी रहेको र गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद–बिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको खोज पत्रकारिता केन्द्रले उल्लेख गरेको छ ।
नेपालबाट चौधरी ग्रुप, गोल्छा समुहसहित १६ नेपालीको ट्याक्स हेभन मुलुकमा लगानी रहेको खुलासा यस रिपोर्टमा गरिएको छ ।
जस अनुसार नेपालका अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यको ट्याक्स हेभन मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा नाम मात्रको कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको रिपोर्टमा उल्लेख छ । चौधरीसहित , उनकी श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुलको नाममा भर्जिन आइल्याण्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको रिपोर्टमा उल्लेख छ ।
यस सूचीमा नेपालको अर्को व्यापारिक घराना गोल्छा अर्गनाइजेशन पनि रहेको छ । गोल्छा अर्गनाइजेशन सम्बद्ध लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमै रहेको देखिएको छ ।
त्यसैगरी त्यसैगरी रिपोर्टमा नेपालकै यसअघिको खुलासा नेपालिक्समा उल्लेख भएका नेपाली नागरिकहरू अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनीहरू पनि सञ्चालनमा रहेको तथ्य फेला परेको छ ।
यसबाहेक ललितपुर पुल्चोक ठेगाना भएका राजेन्द्र शाक्य र अन्य नेपाली व्यवसायीहरू– सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, काठमाडौं ज्ञानेश्वरका सुधीर मित्तल, नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक राधेश्याम सराफको लगानीमा पनि ट्याक्स हेभन मुलुकमा कम्पनी सञ्चालनमा रहेको देखिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।