काठमाडौं । दशैं–तिहार लगायतका चाडपर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएर उपभोक्ताको भान्सा चलाउनै मुस्किल हुन थालेको छ ।
सरकारी निकायको अनुगमन निष्प्रभावी हुँदा व्यवसायीले दैनिक उपभोग्य वस्तुमा निष्फिक्री मूल्य बढाइरहेको पाइएको छ । विशेषगरी खानेतेलको मूल्यमा अस्वभाविक वृद्धि भएको छ ।
खुद्रा व्यापार संघको तथ्यांक अनुसार गएको एक वर्षमा खानेतेलको मूल्य लिटरमै १०० रुपैयाँसम्म वृद्धि भएको छ । यतिबेला तेलका साथै अत्यावश्यक खाद्यवस्तुहरु गेडागुडी, चामल, चिउरा लगायतको मूल्य पनि अचाक्ली बढेको छ ।
संघको तथ्यांक अनुसार २०७७ असोजमा २७५ रुपैयाँ मूल्य रहेको भुटेको तोरीको तेलको अहिले लिटरमै ३४० देखि ३६० रुपैयाँ पुगेको छ । काँचो तोरीको तेल पनि प्रतिलिटर १८०–२८० बाट बढेर ३६० रुपैयाँसम्म पुगेको छ ।
अहिले भटमास तेलको मूल्य प्रतिलिटर १५५ बाट बढेर २४० पुगेको छ । सनफ्लावर तेल प्रतिलिटर १६५–१८० बाट बढेर २५० र डाल्डा घिउ १४५ बाट २३० रुपैयाँ पुगेको छ ।
यसैगरी चिनीको मूल्य पनि बढेर प्रतिकिलो ९५ रुपैयाँ पुगेको छ । एक वर्षमा हरियो केराउमा प्रतिकिलो २० रुपैयाँ बढेर किलोको १४० पुगेको छ । सानो केराउ १६०, राजमा, रहर दाल, मुसुरो दाललगायतको मूल्य पनि किलोमै २० रुपैयाँसम्म वृद्धि भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।