काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको २ अर्ब ६५ करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।
बैंकले बुधबार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७८ असोज १ गतेदेखि २०७९ साल असोज १ गतेसम्मका लागि लगानी गर्न लागेको जनाएको हो ।
बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका कम्पनीहरुका लागि बैंकले निक्षेपमा राख्ने रकम छुट्याएको छ ।
बैंकले क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब १२ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३९ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १३ करोड २६ लाख रुपैयाँ गरी कूल २ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले भदौं २५ गते साँझ ५ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।
प्रस्ताव पेश गर्दा नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग, अवकाश कोष इकाईलाई सम्बोधन गर्नुका साथै अनिवार्य रूपमा उपदान तथा पेन्सन कोष लगानीको ब्याजदरसम्बन्धी प्रस्ताव पत्र भनी अनिवार्य उल्लेख गर्नुपर्ने बताइएको छ ।
यसको लागि सम्बन्धित बैंकले निश्चित शर्तहरु पालना गर्नुपर्ने पनि बैंकले बताएको छ ।
यस्ता छन् शर्तहरुः
-बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन भएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने,
– बैंकबाट तोकिएको न्यूनतम् पूँजीकोष कायम भएको हुनुपर्ने,
– निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने,
-खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने,
-अघिल्लो आर्थिक वर्षमा सञ्चालन नाफामा रहेको हुनुपर्ने,
– रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने,
-कुनेपनि प्रकारको कारबाहीमा परेको भए, फुकुवा भएको कतिमा ६ महिना पूरा भएको हुनपर्ने,
– सर्वसाधारणको लागि शेयर जारी गरिसकेको हुनुपर्ने ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।