काठमाडौं । योगस्य अष्टानाम् अङ्गानाम् समूह अष्टाङ्गयोगः अर्थात् योगका आठ अङ्गको समूहलाई अष्टाङ्ग योग भनिन्छ । यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान, समाध, योऽष्टाङ्गानि (पातञ्जलयोगसूत्रम्) ।
यही सूत्रबाट नै राजयोग नामक अध्यायको प्रारम्भ भएको देखिन्छ । योग हिन्दू संस्कृतिको एक महान, रहस्यमय एवं गुह्य विज्ञान हो।
करिव ५००० वर्ष पहिले यसको प्रमाणिक प्रादुर्भाव भएको पाइन्छ । योग सम्बन्धि उपलब्ध प्राचीन प्रमुख ग्रन्थहरूमा महर्षि पतञ्जलीद्वारा रचित पातञ्जलयोगप्रदीप प्रमुख एवं प्रमाणिक ग्रन्थ हो ।
योग सम्बन्धि अन्य प्राचीन ग्रन्थहरूमा महर्षि घेरण्डद्वारा रचित घेरण्ड संहिता, योगताराबली, हठयोग प्रदीपिका, योगशिखोपनिषद्, दत्तात्रेय–योगशास्त्र, बहिरंगयोग , पराशर संहिता , याज्ञवल्क्य संहिता ध्यानविन्दुपनिषद् श्रीमद्भगवत् गीता गोरक्ष संहिता इत्यादी हुन्।
इतिहासकारहरूले पतञ्जलीलाई ईशापूर्व दोश्रो शताब्दीका मानेका छन् । कैयन् इतिहासकारहरूले महर्षि चरक र पतञ्जली एउटै व्यक्ति हुन् पनि भनेका छन् ।
आयुर्वेद क्षेत्रका महान विद्वान् श्री चक्रपाणि, विज्ञान भिक्षु तथा भाव मिश्रले पनि चरक र पतञ्जली एउटै व्यक्ति हुन भनि लेखेका छन्।
योगच्श्रित्तवृत्तिनिरोधः अर्थात् चित्तवृत्तिको निरोध हुनु नै योग हो । अथवा मनमा कुनैपनि इच्छा, कल्पना, चिन्ता, चिन्तन, विचार भय, इत्यादी आउनै नदिनु, विचारको निरोध गरिदिनु नै योग गर्नु हो । त्यस्तो अवस्थामा मन, पूर्ण विचार शून्य हुन्छ । मन विचारशून्य भएपछि यो स्वतः ध्यान धारणा र समाधीतिर उन्मुख हुन्छ ।
मनलाई विचार शून्य बनाउन धैरै कठिन छ । यो अवस्था प्राप्त गर्न त्यती सहज हुदैन । भगवान श्रीकृष्ण गीतामा अर्जुनसंग भन्नुहुन्छः असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् । अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ।। ९ गिता० अर्थात् हे महाबाहु अर्जुन १ मनलाई नियन्त्रण गर्न धेरै कठिन छ , तापनि यसलाइ अभ्यास वा वैराज्ञले नियन्त्रिणमा ल्याउन सकिन्छ ।
पताञ्जलीले प्रतिपादन गरेका योगका आठ अंगलाई उनले दुई भागमा विभक्त गरेका छन् ।
१. बहिरंग भागः यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, अष्टाङ्ग योगका बहिरंग भाग मानिन्छ । शरीरका बाह्य पक्षहरुको साधनाका लागि बहिरंग योगको आवश्यक पर्छ ।
२. अन्तरंग भागः धारणा, ध्यान, समाधि, अष्टाङग योगका अन्तरंग पक्ष हुन् । यिनीहरु आत्मनिष्ठ हुन्छन्, त्यसैले आत्मचिन्तनद्वारा यिनीहरुको सिद्धी प्राप्त हुन्छ ।
योगको आठ अंग
यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान एवं समाधि । यी योगका आठ अंग हुन् ।
यम
अर्कालाई मनबाट, बोली–वचनबाट, व्यवहारबाट दुःख नदिनु । यसमा अहिंसा पनि पर्छ । जस्तो कि, सत्य बोल्नु, चोरी नगर्नु, छलकपट नगर्नु । ब्रम्हाचर्या रहनु ।
अहिंसा, सत्य, अस्तेय, ब्रम्हचार्य, अपरिग्रह यसमा समावेश छ । ब्रम्हाचर्यको दुई अर्थ छ । एक चेतनालाई ब्रम्हाको ज्ञानमा स्थित गर्नु । दुई, सबै इन्द्रिय जनित सुखमा संयमित हुनु ।
नियम
नियम अर्थात पाँच व्यक्तिगत नैतिकता । यसमा शौच अर्थात शरीर र मनको शुद्धि, सन्तोष अर्थात सन्तुष्ट र प्रशन्न रहनु, तप अर्थात आफुलाई अनुशासित गर्नु, स्वाध्याय अर्थात अत्मचिन्तन गर्नु, ईश्वर प्रणिधान अर्थात ईश्वरप्रति पूर्ण श्रद्धा राख्नु ।
आसन
जसमा स्थिर र सुखपूर्वक बस्न सकिन्छ त्यो आसन हो । उक्त आसन प्रयत्नको शिथिलता र अनन्त –परमात्मा०मा मन लगाएर शिद्ध हुन्छ । ति आसनको शिद्धीले चिसो, गर्मी, भोक, प्यास, हर्ष, विषाद आदि द्वन्द्वबाट आघात पुग्दैन ।
प्रणायाम
आसनमा सिद्धी भएपछि श्वासप्रश्वासको गति लयबद्ध हुनु नै प्राणायाम हो ।
प्रत्याहार
वासनाहरुबाट इन्द्रियलाई पूर्ण मुक्ति दिलाउनु । इन्द्रियको वाह्यवृत्तिलाई आफ्नो नियन्त्रणमा राखेर मनमा विलिन गर्ने अभ्यास नै प्रत्याहार हो । भनिन्छ योगीको इन्द्रिय उसको सर्वथा वशमा रहन्छ । उक्त पाँच साधनालाई बहिरंग साधन र बाँकी तीन साधनलाई अन्तरंग साधन बताइएको छ ।
धारणा
मनलाई आफ्नो वशमा राख्नु धारणा हो । मनलाई तानेर त्यसलाई विशेष स्थानमा राख्नु धारणा हो ।
ध्यान
जुन बस्तुमा चित्तलाई लगाइन्छ, त्यसका एकाग्र हुनु नै ध्यान हो । लक्षित वस्तुमा स्थित मनको क्षण मात्रामा भएपनि अविचलित भएर एकै प्रकारको प्रवाहमा रहनु ध्यान हो ।
समाधि
चित्त जसको ध्यान गरिरहेको हो उसको स्वरुप सून्य भएर जब केवल ध्यान मात्र आभास हुन्छ, त्यही समाधि हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।