काठमाडौं । तालिबानले अफगानिस्तानको राजधानी काबुल शहर कब्जा गर्ने बित्तिकै त्यहाँको अराजक स्थितिसँग सम्बन्धित तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल हुन थाले ।
यसै क्रममा केही पुराना तस्वीरहरु पनि देखिए । तिनै मध्ये केही तस्विरमा महिलाहरु काबुलको सडकमा मिनी स्कर्ट लगाएर स्वतन्त्र रुपमा हिडीरहेका देखिएका थिए ।
माथिको उक्त तस्विर सन् १९७० को बताईएको छ । यो पोस्ट गर्नेहरु यो भन्ने प्रयास गरिरहेका थिए कि यस देशमा बस्ने अधिकांश मानिसहरु मुस्लिम परम्पराहरु र रीतिरिवाजहरुबाट घेरिएका छन्, तर एक समय यहाँका महिलाहरुलाई आफ्नो मनपर्ने जिन्दगी जिउने अधिकार थियो ।
धेरै मानिसहरु सन् १९९६ देखि २००१ सम्मको तालिबान शासनको युगलाई यसरी सम्झन्छन् जहाँ पुरुषहरुका लागि दाह्री बढाउन र महिलाहरुलाई बुर्का लगाउन अनिवार्य गरिएको थियो ।
तालिबानले आफ्नो शासनमा टिभी, संगीत र सिनेमामा पनि प्रतिबन्ध लगाएको थियो, साथै १० वर्ष वा सोभन्दा बढी उमेरका केटीहरुलाई विद्यालय जान प्रतिबन्ध लगाइएको थियो ।
अब त्यो डरले सबैको मुटु र दिमागलाई घेरिरहेको छ कि तालिबानको उही युग फेरी फर्कने त होइन ? मानिसहरु डराउँछन् महिलाहरुको हालत पहिले जस्तै पो हुन्छ की ।
तालिबानको शासनकालमा महिलाहरु माथि सामाजिक, मानसिक र शारीरिक अत्याचारका कथाहरु चर्चामा आइरहेकै अवस्थामा सामाजिक सञ्जालमा यहाँका महिलाहरुको यसअघिको अवस्था कस्तो थियो भन्ने देखाईएको छ ।
इतिहासमा महिला अधिकार
अफगानिस्तानमा महिलाहरुको स्थिति बुझ्न अब्दुर रहमान खानको शासनकालमा जान आवश्यक छ । जो सन् १८८० देखि १९०१ सम्म अफगानिस्तानका शासक थिए, उनले आफ्नो शासनकालमा महिलाहरुको जीवन सुधार गर्न धेरै काम गरे ।
उनले रूढिवादी कानूनमा परिवर्तन ल्याए । जस्तै, पतिको मृत्यु पछि पतिको भाइसंग विवाह गर्ने परम्पराको अन्त्य गरे । साथै, विवाहको उमेर बढाउने देखि महिलाले केहि परिस्थितिमा सम्बन्ध बिच्छेद गर्न पाउने अधिकार पनि दिईयो । त्यो समयभन्दा अघि महिलाले सम्बन्ध बिच्छेद गर्न पाउदैन थिए ।
महिलालाई उसको बुबा र पतिको सम्पत्तिमा पनि अधिकार दिइएको थियो । अब्दुर रहमानको मृत्यु पछि, उनका छोरा अमीर हबीबुल्लाह खानले सिंहासन सम्हाले र उनका बुबाले लिएका प्रगतिशील कदमलाई अगाडि बढाएका थिए । उनको कार्यकालपछि अफगानी महिलाको अधिकारको लागि धेरै संघर्ष भयो ।
सन् १९७० को समय अफगानी महिलाको लागि सबैभन्दा स्वतन्त्र समयको रुपमा बताईन्छ । जसमा महिलाहरु स्वतन्त्र रुपमा बस्न, घुम्न, हिड्न पाउथे । अब देशमा तालिवानी शासन फर्किएसंगै अफगानी महिलाको अधिकार फेरि खोसिने पो हो की भन्ने आशंका पैदा भएको छ । बीबीसी
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।