काठमाडौं । जनगायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । एक्कासी ‘स्ट्रोक’ भएपछि मंगलबार बल्खुस्थित बयोधा अस्पतालको सीसीयू कक्षमा भर्ना गरी उनको उपचार जारी छ । मधुमेह, उच्च रक्तचाप, मुटु र फोक्सोसम्बन्धी दीर्घरोगीसमेत रहेका ७८ वर्षीय टुहुरेलाई शल्यक्रिया गर्न जोखिमपूर्ण रहेकाले औषधीको माध्यमबाट उपचार जारी राखिएको उपचारमा संलग्न वरिष्ठ न्यूरोलोजिस्ट डा। सामर्थ सिंहले जानकारी दिए ।
टुहुरेको उपचारमा हरसम्भव सबै प्रयास जारी राखिए पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार हुन आउन नसकिरहेको सिंहको भनाइ छ । टुहुरेको उपचारमा डा. सिंह, डा. विश्वकुमार श्रेष्ठ, डा. प्रकाश श्रेष्ठ, डा. पावनबहादुर भण्डारीको चिकित्सकीय टोली संलग्न छ । उनको उपचार खर्च जुटाउन परिवारलाई संकट परेको परिवार स्रोतले बताएको छ ।
उपचाररत टुहुरेको स्वास्थ अवस्थाबारे जानकारी लिन बिहीबार पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । टुहुरेको उपचारको सम्पूर्ण खर्च ब्यहोर्न सरकारलाई आग्रह गर्ने प्रचण्डले बताएका थिए ।
उनको स्वास्थ्य अवस्था बुझ्न नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री जनार्दन शर्मा, नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठलगायत अस्पताल पुगेका छन् । नेताहरूले सहयोग गर्ने आश्वासन दिए पनि उपचारका लागि आर्थिक अभाव भएको उनको परिवार स्रोतले बताएको छ ।
सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए । ०७५ सालमा उनको नाममा ‘जेबी टुहुरे फाउण्डेसन’ स्थापना गरिएको छ । फाउण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका टुहुरे छिन् । झण्डै दुई सय वटा जनवादी गीत रेकर्ड गराएका टुहुरेको ‘आमा दिदी बहीनीको हो,’ ‘आँधी खोलैले’लगायत गीत जनप्रिय छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।