add

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै






ActPro Nepal

|

३२ साउन, २०७८

|
684

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्तिकमा तय महाधिवेशन स्थानीय निर्वाचनको बहानामा फेरी पनि सार्न लागेको भन्दै नेतृत्वको आलोचना भएको छ।

राप्रपाको कार्य सम्पादन समितिको वैठक आइतबारबाट जारी छ । वैठकमा धारणा राख्दै समितिका सदस्यहरुले तोकिएको समयमा महाधिवेशन नगर्ने तयारी हो कि? भनेर नेतृत्वप्रति आशंका प्रकट गरेका छन्।

राप्रपाको महाधिवेशन कार्तिक २७, २८, २९ र ३० गतेलाई तय भएको छ । तर, अध्यक्ष कमल थापाले स्थानीय चुनावलाई दृष्टिगत गर्दै फागुन महिनासम्मको कार्यक्रम वैठकमा प्रस्ताव गरेपछि, निर्धारित मितिमा महाधिवेशन नगर्ने नियत हो कि? भन्ने प्रश्न उठेको हो।

‘महाधिवेशन कार्तिक मसान्तलाई तोकिएको छ तर, स्थानीय निर्वाचन सम्बन्धी कार्ययोजनामा कार्तिक महिनापछिको कार्यतालिका समावेश छ। यस्तो प्रस्ताव मनासिव भएन, महाधिवेशनलाई असर हुने कार्य नगरौं,’ श्याम तिमिल्सिनाले कार्य सम्पादन समितिको वैठकको पहिलो दिन बोल्दै भने।

‘महाधिवेशनबाट नयाँ नेतृत्व, नयाँ समिति चयन हुन्छ। स्थानीय तह निर्वाचनको प्रस्तावित कार्ययोजनामा महाधिवेशनपछिको पनि कार्यक्रम छ। यसबाट महाधिवेशनको मिति पर सार्न खोजेको भन्ने सन्देश गएको छ। महाधिवेशनको क्षेत्राधिकारलाई अवरोध गर्न भएन,’ सगुन सुन्दर लावतीले बैठकमा बोल्ने क्रममा भने ।

राप्रपाले महाधिवेशन र स्थानीय चुनावको तयारी सँगसँगै थालनी गरेको छ । यद्यपि स्थानीय चुनावको तयारीको क्रममा महाधिवेशनलाई अवरोध गर्न नहुने भन्दै सुझावहरु प्रस्तुत भएका छन्।

यसैगरी वैठकमा बोल्दै रणबहादुर बलायरले भने, ‘पार्टीको विगतका शुभ दिनहरु सम्झनामा आएको छ । आशा गरौं सद्वुद्धि पलाए, पार्टीलाई पुनः सफलताको उचाईमा लैजान सकिने छ। जे होस्, पुनः मुसिक भव भन्ने अवस्था नआओस्, यो कुरा नेतृत्वले हेक्का राखोस्।’

केदार कोइरालाले भने, ‘पार्टीको यथार्थ अवस्था मध्यनजर गरेर सच्चिन जरुरी छ । नत्र कार्यकर्ताले विकल्प खोज्नु पर्ने हुन्छ।’

‘एउटै व्यक्तिलाई थाम्नै नसक्ने गरी धेरै पदको भारी बोकाउनु न्यायोचित भएन। एक व्यक्ति एक पदको नीति अवलम्बन गरे, सबैले जिम्मेवारी पाउने र जिम्मेवार वहन पनि प्रभावकारी हुनेछ,’ विन्दा गिरीले वैठकमा बोल्दै भनिन्।

कार्य सम्पादन समितिको वैठक सोमबार जारी रहनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.