add

मुख्यमन्त्री निवासमा बन्धक बनाएर विज्ञप्तीमा जबरजस्ती हस्ताक्षर गराइयो : विमला वली






ActPro Nepal

|

२१ साउन, २०७८

|
1206

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफू माओवादी केन्द्रमा नै रहेको बताएकी छिन् ।

बिहीबार नेकपा माओवादी केन्द्रका नेताहरुसँगै पत्रकार सम्मेलनमा सार्वजनिक भई वलीले आफूले पार्टी परिर्वतन नगरेको बताएकी हुन्।

प्रमुख सचेतक भुमिश्वर ढकाल र स्थानिय नेता मानवहादुर राउतले आफ्नै निवास तुलसीपुरमा आएर एमालेमा लाग्न दवाव दिएको र भूमिश्वरले नेपालगन्ज जान लागेको र पुराईदिने भन्दै लगेर मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखेको वताएकी छिन् ।

नेकपाबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट उपनिर्वाचन जितेर लुम्बिनी प्रदेश सांसद बनेकी विमला वली अहिले फेरि चर्चामा छिन् ।

श्रीमान उत्तम कुमार वली दुर्घटनामा गुमाएपछि दाङकी विमला खत्री वलीको राजनीतिमा प्रवेश भएको हो ।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा उपनिर्वाचनबाट उनी निर्वाचित भएकी थिइन् । निर्वाचित भएको लामो समयसम्म उनलाई कसैले खोजेन र चर्चामा पनि आइनन् । उनका पति एमालेबाट निर्वाचित थिए । तर उनले उपचुनाव जित्ने बेलासम्म नेकपा बनिसकेको थियो ।

नेकपाबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचित भएकाले एमालेमै रहनुपर्ने जिकिर सत्ता पक्षले गर्‍याे । शुरुमा एमालेका संसदीय दलको बैठकमा सामेल भइन् र पार्टीको दाङ जिल्ला पार्टीको बैठकमा पनि सहभागी भइन् ।

तर, मुख्यमन्त्री शंकर पोखरेललाई जसरी पनि हटाउने योजना बनाएका विपक्षी गठबन्धनले उनलाई माओवादी केन्द्रमा सामेल गराएर बहुमत पुराउने तयारी गरे । यसैलाई टेकेर वलीले माओवादी केन्द्र रोजेको पत्रकार सम्मेलनमार्फत् सार्वजनिक दिइन् ।

म लुम्बिनी प्रदेशसभा सदस्य बिमला कुमारी खत्रीको सवालमा गएको साउन १५ गते देखि आजसम्म आम सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा मेरो राजनीतिक जीवनलाई असर गर्ने भ्रमहरु र केही सत्य कुराहरु आएका छन्। म यसै पत्रकार सम्मेलनमार्फत घटना विवरण सहित स्पष्ट पार्न चाहन्छु।

१‍. म विमलाकुमारी खत्री २०७६ मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवार भई निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य हुँ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुन म निवार्चित भएको दलको सवालमा २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला अनुसार म निर्वाचित भएको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भई पुनः पूर्ववत अवस्थामा नेकपा ( माओवादी केन्द्र) र नेकपा (एमाले) कायम भएको अवस्थामा म निर्वाचित भएको दल नरहेपछि स्वतन्त्र हैसियतमा मैले नेकपा (माओवादी केन्द्र) रोजी सोही दलको लुम्बिनी प्रदेश सभा दल सदस्यता २०७८ वैशाख १७ गते प्राप्त गरी वैशाख १९ गते पत्रकार सम्मेलन गरी घोषणा गरेको विषय स्मरण गराउन चाहन्छु।

२. म नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशसभा संसदीय दल सदस्य भइसकेपछि नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलका नेताहरुबाट एमाले पार्टीमा आउनु पर्यो भनेर बारम्बार दबाब आउन थाल्यो। यो दबाब निरन्तर जारी रहयो, मैले त्यसलाई निरन्तर इन्कार गरिरहें। यही क्रममा २०७८ साउन १५ गते दिनको ११ बजे म उपचारको लागि नेपालगञ्ज हिँड्न लागेको समयमा नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावत मेरो घर तुल्सीपुरमा आउनुभयो, फेरि उही दबाब दिन थाल्नुभयो।

मैले फेरि पनि इन्कार गरें। म बिरामी छु उपचारको लागि नेपालगन्ज जाँदैछु जानदिनुस् भन्दा प्रमुख सचेतक भूमिश्वर ढकालले हामी पनि नेपालगन्ज जाने हो, सँगै जाऔँ हामी नै पुर्याइदिन्छौं भन्नुभयो। उहाँ जस्तो जिम्मेवार नेताले भनेपछि मैले विश्वास गरी गाडीमा बसें। गाडी तुल्सीपुरबाट अमिलिया आएर उहाँहरुले खाना खानुभयो। गाडीमा बसियो तर गाडी नेपालगन्जतिर जानु पर्नेमा एक्कासि बुटवलतिर मोडियो। तत्कालै मैले प्रतिवाद गर्दै भनें- यता कहाँ जाने हो? गाडी बुटवलतिर हुँइकिरह्यो। मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिहँदा उहाँहरुले भन्नुभयो- एक पटक मुख्यमन्त्रीज्यूलाई भेट्नु पर्योयो भनेर गाडी नरोकी एकैचोटी बुटवल मुख्यमन्त्री निवासमा पुर्याइयो।

३. मुख्मन्त्री शंकर पोखरेलसँग भेट भई छलफल सुरु भयो। फेरि उही दबाब सुरु भयो नेकपा ( एमाले) मा आउनुपर्यो, पहिले हाम्रो गल्ती भयो, अब त्यस्तो हुँदैन, पार्टीमा आउनुस मन्त्री बन्नुस् भनेर विभिन्न प्रलोभन देखाइयो। मैले निरन्तर इन्कार गरिरहें। साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दबाब दिइयो। मैले इन्कार जारी राखिरहें। साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढनै नदिई जबरजस्ती हस्ताक्षर गराइयो।

यति मात्र नभई अर्को दुइ तीन वटा माइन्युट जस्ता रजिष्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो। यति घटना गराइसकेपछि अब मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबरजस्तीको खण्डन गर्छ भनेर सोचेको थिएँ, तर अझ कडाइका साथ साउन १९ गते देखि मुख्यमन्त्री निवासभित्रै राखियो। २० गते बिहान मलाई असह्य मानसिक पीडा भयो। यहाँबाट जसरी पनि निस्कनु पर्छ भनेर सोच बनाएर समय र परिस्थिति हेरी म आज जसरी पनि निस्कनुपर्छ भनेर तयारी गरें।

४. दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगेँ, जहाँ मेरो आफ्नै खुला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरें। त्यसबेला म मानसिक रुपमा निकै थकित भएकोले मुक्त भएकै दिन साउन २० गते नै सार्वजनिक हुन सकिनँ। आज तपाईं सञ्चारकर्मीहरुमार्फत जनता सामु उपस्थित भएको छु।

५. राजनीति र सरकारको खेलमा यस्तो घटना मैले पहिलो पटक बेहोर्नुपर्यो। नेकपा (एमाले) ले यस्तो अराजनीतिक र अनैतिक काम गर्ला भनेर सोचेकै थिएन। मेरो विचार राजनीति उहाँहरुको भन्दा फरक भए पनि मैले उहाँहरुलाई अविभावककै रुपमा मान्ने र बुझ्ने गर्दथे। तर त्यस्तो व्यावहार पाइएन।

६. आदरणीय सञ्‍चारकर्मी मित्रहरु र आम जनसमुदायहरु, यस घटनाबाट मलाई गम्भीर शिक्षा प्राप्त भएको छ र मलाई यस घटनाले अझै परिपक्व बनाएको छ। म मेरो दल नेपाल कम्युनिष्ट पार्टी () माओवादी केन्द्र) प्रति पूर्ण प्रतिबद्ध छु र थप बलियो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। मेरो नामबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश दलले फैलाएको भ्रमहरु र जबरजस्ती गरिएको कागज र हस्ताक्षर झुठो हुन भनेर जानकारी गराउँछु। अन्त्यमा मलाई निर्वाचित गर्ने जनता, उद्धार गर्ने नेता कार्यकर्ता र सहयोगी सबैमा हार्दिक आभार प्रकट गर्छु।






एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.