काठमाडौ । नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने भएको छ ।
च्यासलस्थित तुल्लीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटीको बैठकले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।
बैठक रोक्न माग गर्दै पुगेको माधव नेपाल पक्ष नेता बैठक नरोकिएपछि बाहिरिएका थिए । तर, बैठकले सरकारलाई विश्वासको नदिने निर्णय गरेको हो ।
बैठकपछि एमाले नेता प्रदीप ज्ञवालीले आफूहरुले प्रतिपक्षीय भूमिका निभाउने भन्दै सरकारलाई विश्वासको मत नदिने बताएका हुन् ।
‘एमालेले प्रतिपक्षमा उभिने निर्णय गरिसकेको छ । कोही साथीहरु सरकारको पक्षमा उभिनु हुन्छ भने सर्वोच्च अदालतले त्यो बाटो खुला गरिदिएको छ उहाँहरु जान सक्नुहुन्छ’ ज्ञवालीले भने, ‘ तर पार्टीले सबै प्रतिनधिसिभा सदस्यलाई विश्वासको मत नदिन निर्देशन गरेको छ । कोही उता जानु भयो भने त्यो उहाँहरुको व्यक्तिगत निर्णय हुनेछ ।’
एमालेकै माधव नेपाल पक्षका २३ सांसदले मत दिंदा देउवा प्रधानमन्त्री भएका थिए । फेरि पनि सरकारलाई विश्वासको मत दिन नेपाल पक्षका सांसदको मत अपरिहार्य छ ।
अदालतले फैसलामा संविधानको धारा ७६(५) अनुसार बन्ने सरकारका लागि दलमा ह्वीप नलाग्ने उल्लेख गरेको छ । यस्तोमा अध्यक्ष ओलीले एमालेका सांसदलाई कारवाही गर्न पनि नसक्ने भएका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।