काठमाडौं । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तुका अङ्ग र छालासहित चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । सोमबार राति महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको विशेष टोलीले ठमेल क्षेत्रबाट ४ जना चिनियाँलाई पक्राउ गरेको हो ।
दुई वटा टेबुलमा विद्युत् जडान गरी डाइस जस्तो देखिने गोटीबाट जुवा खेलिरहेका बेला उनीहरू पक्राउ परेका र अनुसन्धान गर्दै जाँदा उनीहरुको साथबाट झन्डै ७ फिट लामो पाटे बाघको छाला, गाईको जस्तो देखिने छाला, कस्तुरीको विना २० थान फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चिनियाँको साथबाट जुवा खेलाउन प्रयोग गरिएका ४ सय १० वटा गोटी, करिब ९ लाख रुपैयाँ नगद, विभिन्न बैंकका एटीएम र रकम लेनदेन गरिएका भौचर पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरूविरुद्ध वन्यजन्तु तस्करी, गैरकानूनी जुवा, जडीबुटीको अवैध ओसारपोसारविरुद्धको कानून अनुसार अनुसन्धान अघि बढाइएको एसपी सिंहले बताए । यसमा अन्य मानिसको पनि संलग्नता हुने आशङ्का गरिएको छ । वन्यजन्तुको छाला फेला पर्नुले नेपालीहरूको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।