७० प्रतिशत पाठ्यपुस्तक बिक्री, नयाँ नक्साको बेग्लै पृष्ठ पठाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि उत्पादित पाठ्यपुस्तक अहिलेसम्म ७० प्रतिशत बिक्री/वितरण गरेको छ ।

कोरोना महामारी र निषेधाज्ञाका बीच पाठ्यपुस्तक उत्पादन र वितरणलाई अत्यावश्यक सेवामा राखिएपछि लिमिटेडबाट छापिएका पाठ्यपुस्तक विभिन्न प्रदेश र जिल्लामा बिक्रेतामार्फत ढुवानी गराइएको हो ।

विगतका तय गरिएका पाठ्यक्रम मुद्रणीय प्रति (सीआरसी) का आधारमा पहिल्यै छापिएका पाठ्यपुस्तकमा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नयाँ राजनीतिक नक्सा समावेश नभएकामा सम्बन्धित पृष्ठमा नक्साबारे अलग्गै पृष्ठ छापेर विद्यालय–विद्यालयमा पठाउने काम पनि केन्द्रले गरिरहेको छ । अहिले मुद्रण भइरहेका पाठ्यपुस्तकमा नयाँ नक्सासहित छपाइ भइरहेको केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले बताए ।

विद्यालय तहका पाठ्यपुस्तक विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने सरकारको दायित्व हो । कक्षा एकदेखि तीनसम्मका पाठ्यपुस्तक निजी क्षेत्रका प्रेसले उत्पादन गर्दै आएका छन् भने त्याे तहभन्दा माथिका लागि जनक शिक्षाले उत्पादन गर्दै आएको छ । वितरणका लागि केन्द्रले देशका आफ्ना प्रादेशिक र अन्य कार्यालयमा गरी एक हजार एक सय बिक्रेता नियुक्त गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ नक्सा समावेश गर्न निर्देशन दिएपछि यही असार १५ गते पाठ्यक्रम विकास केन्द्रले जनक शिक्षा लिमिटेडलाई त्यसबारे पत्राचार गरेको थियो ।

पाठ्यक्रम विकास केन्द्रले आग्रह नगरेसम्म उत्पादनकर्ता निकायले पाठ्यपुस्तकमा परिमार्जन गर्न पाउँदैन । नयाँ (चुच्चे) नक्साअनुसार नेपालको क्षेत्रफल बढेर एक लाख ४७ हजार पाँच सय १६ कायम भएको छ । संसदबाट संविधान संशोधन भएपछि नेपालकाे नयाँ राजनीतिक नक्सा २०७७ जेठ ७ गते भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले समयमा नयाँ नक्साबारे पाठ्यसामग्रीमा परिमार्जनका लागि समयमा औपचारिक पत्राचार नगर्दा बजारमा गइसकेका पाठ्यपुस्तकमा पुरानै नक्सा समावेश भएको गुनासो आएको थियो ।

पाठ्यक्रम विकास केन्द्रले यही असार १३ गते ‘पाठ्यपुस्तकको प्रयोगसम्बन्धी अत्यन्त जरुरी सूचना’ निकाल्दै विद्यालयमा प्रयोग हुने पाठ्यपुस्तक तथा पाठ्यसामग्रीका सम्बन्धमा पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिको गएकाे जेठ २८ गतेको निर्णयअनुसार यस शैक्षिक सत्रका लागि बिक्रीमा रहेका स्वीकृत पाठ्यपुस्तक तथा पाठ्य सामग्रीमा अनिवार्य रूपमा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा समावेश हुनुपर्ने सूचना बिक्रेता, शिक्षक र अभिभावकमा पनि दिएको थियो ।

गएकाे वर्षमा नै छपाइ भएका पाठ्यपुस्तक तथा सामग्रीमा सम्बन्धित पेजमा परिमार्जन गरी नयाँ पेज समावेश गर्न पनि त्याे सूचनामा आग्रह गरिएको थियो । अनुगमन समितिले यही असार १२ मा बजार अनुगमन गर्दा पुरानै नक्सा भएका धेरै पुस्तक देखिएको नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीको भनाइ छ ।

पाठ्यक्रम विकास केन्द्रले अब पुस्तक खरिद गर्दा हेरेर मात्रै खरिद गर्न विद्यालय, शिक्षक र विद्यार्थीलाई आग्रह गरेको छ । कक्षा चारदेखि दशसम्मका सामाजिक विषयमा नेपालको नक्सासम्बन्धी पाठ रहेको छ । कक्षा एक, दुई, तीन र ६ मा नयाँ पाठ्यपुस्तक लागू भएकाले ती पुस्तकमा स्वतः नयाँ नक्सा समावेश गरिएको जनाइएको छ ।

लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यका अनुसार यस शैक्षिक सत्रका लागि सरकारले दिएको एक करोड ८४ लाख थान पाठ्यपुस्तक उत्पादन हुनुपर्ने लक्ष्य रहेकामा अहिलेसम्म एक करोड ३० लाख थान बिक्री वितरण भइसकेको छ । कर्णाली प्रदेशका केही जिल्लाबाहेक अन्य जिल्लाबाट पाठ्यपुस्तक अभाव भएको गुनासो नआएको केन्द्रले जनाएको छ । रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।